Logo

देउवाले मुख खोले : “चुनाव हुन दिनुहोस, अनि भन्छु म के गर्छु भनेर”



“तोकिएकै मितिमा चुनाव भइछाड्छ्”

काठमाडौं, १६ बैशाख । प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावलाई पारित गराएर चुनावमा होमिनुपर्ने भएकोले सकेसम्म एमालेकै सहमतिमा नभए पनि संशोधन प्रस्ताव भोलि पारित हुने स्पष्ट पारेको छ ।

सभापति देउवाले सरकारले संविधानको सर्वस्विकार्यता बढाउनको लागि पनि संशोधन अनिवार्य भएकोले सरकारले प्रस्ताव अघि बढाएकोले एमालेले पनि यसमा सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने,“सकेसम्म एमालेकै सहमति र समर्थनमा यो प्रस्ताव पारित हुन्छ, यदि एमालेले समर्थन नगरेपनि हामी प्रस्ताव भोलि(आईतबार) नै पारित गर्छौं।”

त्यस्तै उनले बैशाख ३१ र जेठ ३१ को निर्वानको मिति कुनैपनि हालतमा तलमाथि नहुने समेत जिकिर गरे । उनले भने,“तोकिएकै मितिमा चुनाव भइछाड्छ् ।”

शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले चुनावको मिति सर्छ किन भनेर अब शंका तथा उपशंका गर्न नहुने धारणा राखे ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले मुलुकमा कांग्रेसकै नेतृत्वमा शान्ति आएको, संविधान जारी भएको दोहोर्याउँदै अब मुलुकको समृद्धिको लागि संविधान कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा अ िबढ्ने विश्वास व्यक्त गरे ।

उनले निर्वाचन सकिएलगत्तै मतगणना गर्ने कि वा के गर्ने भन्ने विषयमा अहिले बहस भैरहेकोप्रति प्रकाश पार्दै भने,“यो विषयमा पनि हामी छलफलमा छौं, सकेसम्म निर्वाचन सकिएलगत्तै मतगणना गर्नुपर्छ भन्ने हाम्रो अडान छ, कहिले गर्ने, सहमति गरेर नै हामी यसमा निश्कर्षमा पुग्छौं ।”

पत्रकार ऋषि धमलाले तपाई कहिले प्रधानमन्त्री बन्नुहुन्छ भनेर गरेको एक प्रश्नमा उनले भने,“चुनाव हुनु दिनोस्, चुनाव भएपछि भन्छु ।”

त्यस्तै कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले  चुनाव सार्नुपर्छ भनेर सत्तारुढ दलभित्रै पनि चलखेल भैरहेको बताउँदै अब कुनैपनि हालतमा चुनाव सार्न नहुने जिकिर गरे ।

नेता पौडेलले थपे,“सम्पूर्ण कार्यकर्ताहरु चुनावमा होमिसकेका छन्, त्यसैले अब चुनावको मिति सार्ने खेलमा कोही पनि सहभागी हुनुहुँदैन, किनकी निर्वाचन राष्ट्रको आवश्कत्ता हो ।” त्यस्तै उनले भोलि नै प्रस्ताव पारित गर्नुपर्ने समेत धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्