Logo

चौंतिस घरपरिवारलाई जनताको आवासको पहिलो किस्ता



बनियानी (झापा), १६ वैशाख । जनताको आवास कार्यक्रम अन्तर्गत झापाका ३४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् ।

दलित, मुस्लिम, आदिवासी तथा गरिब परिवारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत उनीहरुले पहिलो किस्ताबापतको रू १८ लाख २४ हजार ९५० पाएका हुन् ।

सहरी विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख इन्जिनियर सुमनकुमार मिश्रकाअनुसार विर्तामोड नगरपालिका (साविक गरामनी गाविस) का ११ परिवार र बुद्धशान्ति गाउँपालिका (साविक बुधबारे गाविस) का २३ परिवारले जनही रू ५३ हजार ६सय ७५ दरले रकम पाएका हुन् । पहिलो किस्ता लिने परिवारले घर नबनाए दोस्रो किस्ता नपाउने इन्जिनियर मिश्रले बताउनुभयो ।

जनताको आवास कार्यक्रम अन्तर्गत झापाका चालु आर्थिक वर्षमा पाँच सय घर निर्माण गर्ने लक्ष्य राखिएको छ । जसका लागि हरेक परिवारले घर निर्माणका लागि रू दुई लाख १४ हजार सात सय रुपैयाँ पाउने छन् । उनीहरुले दुई कोठा, एक भान्सा र शौचालय भएको घर बनाउनुपर्नेछ । सरकारले गत आर्थिक वर्षदेखि नै कार्यक्रम लागू गरे पनि झापामा यस वर्षदेखि मात्र कार्यक्रम सुरु भएको हो ।
झापाका १५ बटै स्थानीय तहमा पाँचसय घरपरिवार छनोट गरिसकेको र छनोट मध्येपनि एक सय ५० घरपरिवारसँग आवास निर्माणको सम्झौता भइसकेको इन्जिनियर मिश्रले बताउनुभयो ।

सहरी विकास मन्त्रलाय, सहरी विकास तथा भवन निर्माण विभाग मार्फत आएको बजेटमध्ये आवास बनाउन सुरु गरिसकेका परिवारलाई पहिलो किस्ताबापत २५ प्रतिशत, दोस्रोबापत ३० प्रतिशत, तेस्रोबापत ३५ र अन्तिम किस्तामा १० प्रतिशत रकम उपल्बध गराइने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्