Logo

दलीय स्वार्थ त्याग्नुपर्छ : उपप्रधानमन्त्री थापा



हेटाँैडा, १६ वैशाख । उपप्रधान तथा सङ्घीय मामिला र स्थानीय विकासमन्त्री कमल थापाले मधेसी मोर्चालाई राष्ट्रिय मूल प्रवाहमा ल्याउनलाई प्रमुख दलले दलीय स्वार्थ त्यागेर विवेकशील भएर निर्णय लिनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले सो पार्टी मकवानपुरद्वारा आज हेटौँडामा आयोजित बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै मधेसी मोर्चालाई संविधानको कार्यान्वयन क्रममा स्थानीय निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरुले नै उपेक्षा गर्न नहुने धारणा राख्दै बाह्य शक्तिले दलहरुलाई प्रयोग गर्ने गरेकाले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने गरेको स्पष्ट पार्नु भयो ।

अध्यक्ष थापाले मुलुकमा शान्ति, स्थायित्व र सुशासनको लागि स्थानीय निर्वाचन अपरिहार्य रहेको र सबै राजनैतिक दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराउन सरकार र प्रमुख राजनीतिक दलको बीचमा समझदारी हुनु जरुरी रहेको छ भन्नुभयो ।

सो अवसरमा सांसद गणेश थापा र राप्रपाका नेता मधु अधिकारीले प्रमुख दलहरुको बीचमा आपसी मनमुटाव त्यागेर स्थानीय तहको निर्वाचनलाई सफल पार्न तत्काल मधेसी मोर्चाको मागलाई कार्यान्वयन गर्न सरकार र प्रमुख दलहरुको बीच समन्वय र समक्षदारीका साथ अघि बढनु पर्ने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्