Logo

एमाले राजा फर्काउने षड्यन्त्रमा लाग्यो : किराँती (भिडियोसहित)



काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले संविधानलाई असफल बनाएर राजा फकाउने षडयन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै नेता किराँतीले एमालेले मुलुकको निकासको लागि ल्याईएको संशोधन विद्येयकको विरोध गरेर नाटक मञ्चन गरिरहेको आरोप लगाए । उनले भने,‘वास्तवमा एमालेले निर्वाचन नै चाहेको छैन भन्ने कुराको पुष्टि भएको छ, निर्वाचन निर्वाचन भनेर बाहिर कराउने, तर भित्री रुपमा निर्वाचन एमालेले नचाहेको हो कि भन्ने प्रश्न उब्जिएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले एमाले नेतृत्वको रवैया नै बेठीक रहेको टिप्पणी गरे । उनले भने,‘एमालेले गणतन्त्रलाई नै समाप्त पार्न खोज्दैछ ।’ उनले एमाले अध्यक्ष ओलीले विगतमा पनि संघीयता र गणतन्त्रलाई आफूहरुले बाध्यताले स्विकार गरेको बताईसकेको उल्ल्ेख गर्दै भने,‘अहिले एमाले नेतृत्वले गणतन्त्रलाई समाप्त पार्न खोजेको त होईन ?’

उनले अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टीकै भएकोले उनले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएको तर दलका नेताहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै भने,‘यस्तो क्रियाकलाप र तारतम्य हेर्दा, ज्ञानेन्द्र शाहलाई सिंहासनमा राख्ने खेल एमालेले गर्दैछ।’

उनले अघि भने,‘सके सिधै सिंहासनमा ज्ञानेन्द्र शाहलाई राख्ने, नसके चुनाव भाँड्ने, चुनाव भाँड्नपनि सकिएन भने चुनावमा राष्ट्रपति ज्ञानेन्द्रलाई बनाउने, र फेरि राजतन्त्र पूर्नस्थापित् गर्ने यो क्रियाकलापमा एमाले लागेको छ।’ उनले त्यही उद्देश्यको लागि एमालेले अहिले खोचे थाप्ने काम गरिरहेको समेत आरोप लगाए । किराँतीले एमालेको यो क्रियाकलाप प्रतिक्रान्तिकारी क्रियाकलाप भएको भन्दै भत्र्सर्ना समेत गरे ।

निर्वाचन काठमाडौंमा आएको गणतन्त्रलाई गाउँसम्म पुर्याउने माध्यम भएकोले अहिले सरकारले घोषणा गरेको बैशाख ३१ र जेठ ३१ को दुई चरणको स्थानीय तहको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउँदै यसलाई पूर्ण रुपमा सफल बनाउनको लागि वर्तमान सरकार केन्द्रित रहेको किराँतीको दाबी थियो । उनले भने,‘घोषित मितिमै निर्वाचन हुनुपर्छ।’

त्यस्तै उनले यो निर्वाचन संविधान कार्यान्वयन गर्नको लागि भएकोले संविधानमा स्वियर्काता बढाउनको लागि पनि सरकारले परिमार्जनसहितको संशोधन प्रस्ताव ल्याएको बताए । उनले एमालेले संशोधनको बिरोध गर्नु वास्तविकतामा संविधान कार्यान्वयन नचाहेको स्पष्ट हुने आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्