Logo

संशोधन प्रस्तावलाई समर्थन नगरे ईतिहाँसले एमालेलाई श्राप्छ : मन्सुर



काठमाडौं, १६ बैशाख । प्रमुख दल नेपाली काँग्रेसका नेता फर्मुल्लाह मन्सुरले चुनावको वातावरण बनाउनको लागी संशोधन ल्याउनु परेको बताउँदै संशोधन प्रस्तावको विरोध गरेर एमाले निर्वाचनबाट भाग्न खोजिरहेका आरोप लगाए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जबसम्म संविधान संशोधन हुँदैन, तबसम्म कुनैपनि निर्वाचन हुन सक्दैन्, त्यसैले निर्वाचनको वातावरण बनाउनको लागि पनि संशोधन अनिवार्य छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले सरकारले परिमार्जनसहितको संशोधन विद्येयक अघि बढाएपछि आम जनतामा निर्वाचन हुनेबारे सकारात्मक विश्वास पैदा भएको उल्लेख गर्दै भने,‘विश्वासको वातावरण बनिरहेको छ, तर एमालेले यसलाई राष्ट्रघाती भनेर गलत प्रचार गरिरहेको छ, यसले वातावरण बनाउँदैन्।’

नेता मन्सुरले संशोधन प्रस्तावको विरोध गर्नु भनेको एमाले निर्वाचन विरोधी हो भनेर जनताले बुझिसकेको समेत आरोप लगाए । उनले भने,‘प्रस्तावित संशोधन प्रस्तावको पक्षमा जनमत बनिरहेको छ, राप्रपा पनि यसको पक्षमा छ।’ उनले एमालेले विरोधको शैली अपनाएर मुलुकलाई बन्धक बनाउन खोजीरहेको बताउँदै ईतिहाँसले एमालेलाई श्राप्ने समेत बताए ।

उनले भने,‘एमालेले जे नाटक अहिले मञ्चन गरिरहेको छ, यो जनताको अधिकार बञ्चित गर्ने कुरा हो, ईतिहाँसले एमालेलाई श्राप्ने छ, एमाले अब पहाडको मात्रै पार्टी हुनेछ, मधेशमा पाईला टेक्ने ठाउँ हुँदैन् ।’

उनले संशोधन प्रस्ताव भोलि(आईतबार) निर्णयार्थ प्रस्तुत हुने भएकोले एमालेले पनि सहयोग गर्नुपर्ने बताए । एमालेको अडानले राजनीतिक निकास लिन नसक्ने र निर्वाचनको वातावरण भाँड्ने काम गरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । यद्धपी उनले संविधान संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदासम्म एमालेले पनि साथ दिने विश्वास व्यक्त गरे ।

उनले सरकारले घोषणा गरेको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने समेत स्पष्ट पारे । उनले भने,‘निर्वाचन दुई चरणमा घोषणा भैसकेको छ, अब फेरि एक चरणमा गर्नुपर्छ भन्नु गलत हो, कोही पनि निर्वाचनबाट भाग्नुहुँदैन् ।’ उनले संशोधन प्रस्ताव सदनबाट पारित हुने ठोकुवा समेत गरे ।



प्रतिक्रिया दिनुहोस्