Logo

चुनाव गराउन नसके प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : महासेठ (भिडियोसहित)



काठमाडौं, १६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुबिर महासेठले विदेशीले तयार बनाएर संबिधान कार्यान्वयन हुन नदिने षड्यन्त्रका साथ अहिलेको संशोधन प्रस्ताव आएको आरोप लगाएका छन् । उनले अहिलेको संविधान लागु होस् भन्ने जनताको चाहना रहेको बताए ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजा गरेको साक्षात्कारमा बोल्दै उनले बलियो प्रतिपक्षी दल हुँदाहुँदैपनि एमालेसँग कुनै छलफल तथा सहमति नगरीकन प्रस्ताव आउनु नै दुर्भाग्य भएको टिप्पणी गरे । उनले भने,‘बलियो प्रतिपक्षी दल हुँदाहुँदै पनि हामीसँग कुनै छलफल गरिएन्, किनकी उहाँहरुलाई थाहा छ, एमालेले यो कुरा मान्दैन भनेर, देश र जनताको हितमा भएको भए पो उहाँहरुले हामीसँग सल्लाह गर्नुहुन्थ्यो ?’

नेता महासेठले मोर्चाका नेताहरुले दुताबास गएर बैठक गर्ने गरेको समेत आरोप लगाए । उनले भने,‘उहाँहरुको बैठक दुतावासमा हुन्छ, त्यो पनि राती होईन, दिउँसै १२ बजे, उहाँहरुको पार्टी हेडक्वार्टर छैन र ?’

एमालेलाई बदनाम गराउन अहिले खेल भैरहेको समेत उनको आरोप थियो । उनले सत्तारुढ दल राप्रपाको चरित्र पनि जनताले परिक्षण गरिसकेको बताउँदै राप्रपा अहिले काँग्रेस, माओवादी र मधेशवादी दलको कित्तामा उभिएको आरोप लगाए ।

त्यस्तै उनले ११ जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउन लागिएकोप्रति टिप्पणी गर्दै भने,‘यो त मधेशी मधेशीबीच लडाउन ल्याउन लागेको हो, हार्ने ठाउँमा संख्या बढाउन खोजिएको छ, उनले नेपालको स्वाधिनता र राष्ट्रियतामा आक्रमण गर्न पाईदैन् ।’ उनले आफ्नो पार्टीले जस्तोसुकै मुल्य चुकाउनु परेपनि पछि नहट्ने भन्दै देश र जनताको हित विपरित आएको प्रस्तावको विरोध गर्ने र अन्तिमसम्म पनि लड्ने स्पष्ट पारे ।

उनले आफूहरु चुनावको पक्षमा रहेकोले वर्तमान सरकारले घोषित मितिमा चुनाब गराउन नसके राजीनामा दिनुपर्ने बताए । उनले भने,‘चुनाव गराउन नसके प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ, तर चुनावको विकल्प छैन् ।’

उनले संसदमा रहेको संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित हुनै नसक्ने बताउँदै सरकारले संशोधन पारित गराउनको लागी चलखेल गर्न नहुने धारणा राखे । उनले भने,‘अहिले व्यापक चलखेल भैरहेको छ, यस्तो चलखेल नहोस्, तर संसदबाट पारित हुन्छ भने हामीले नतिजा त मान्नैपर्ने हुन्छ, तर हामी आफ्नो अडानबाट दायाँबायाँ हुँदैनौं ।’



प्रतिक्रिया दिनुहोस्