Logo

देउवा र ओलीवीच प्रचण्ड हटाउने सहमति, चुनाव गराउन ओलीको शुभकामना



काठमाडौं, १६ बैशाख । प्रमुख दल नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हटाउनेबारे छलफल भएको छ ।

शनिबार विहान काँग्रेस शीर्ष नेताहरुको जम्बो टोली लिएर देउवा ओली निवास बालकोट पुगेका थिए। उनले सुरुवातमा संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर एमाले अध्यक्ष ओलीले उक्त निर्णय नै अस्विकार गरिदिएका थिए ।

ओली निवासमा भएको काँग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताका क्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने बताएको हो । छलफलका लागि सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।

देउवाले ओलीसामू वर्तमान प्रधानमन्त्री प्रचण्डले चुनाव गर्न नसक्ने भन्दै आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेर चुनाव गर्न सहयोगको आग्रह गरेका थिए । यसमा ओलीले पहिला पार्टीभित्र यो निर्णय गराएर आउनको लागि आग्रह गरेका थिए । पछिल्लो समय देउवा प्रचण्डसँग सशंकित छन् । त्यसैले देउवाले यस्तो प्रस्ताव राखेको हुन सक्ने सूत्रहरुले बताएका छन् ।

त्यस्तै भेटमा देउवाले ओलीलाई मधेसवादी दललाई चुनावमा ल्याउनका लागि संविधान संशोधन आवश्यक रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा ओलीले संविधान संशोधन प्रतिगामी र जनविरोधी भएको भन्दै सहयोग गर्न नसक्ने बरु संशोधन प्रस्तावलाई कुनै हालतमा असफल बनाउने बताएका थिए ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन र वर्तमान राजनीतिक अवस्थाका बारेमा दुई दलका नेताबीच छलफल भएको बताए।

एमाले महासचिव ईश्वर पोखरेलले संशोधनमा सहयोग गर्न काँग्रेसले गरेको आग्रह आफूहरुलाई मान्य नभएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्