Logo

ओलीसँग देउवाको प्रस्ताव : नयाँ सरकार नयाँ चुनाव



काठमाडौं १७ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले ३१ वैशाखमा पहिलो चरणको निर्वाचन गर्न कठिनाइ भए आफ्नै नेतृत्वमा बन्ने सरकारले स्थानीय तहको निर्वाचन गराउने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग शनिबारको भेटवार्तामा देउवाले पहिलो चरणको चुनाव हुन नसके आफ्नो नेतृत्वमा बन्ने सरकारले एउटै चरणमा चुनाव गर्ने प्रतिबद्धता जनाउँदै सहयोग मागेका हुन् ।

‘३१ गतेका लागि तोकिएको मितिमा चुनाव गर्न कठिनाइ भयो भने मेरो नेतृत्वमा बन्ने सरकारले चुनाव गर्नेछ,’ देउवाको भनाइ उद्धृत गर्दै ओलीनिकट स्रोतले भन्यो, ‘त्यसवेला तपाईंको पनि सहयोग हुनेछ भन्ने अपेक्षा छ ।’ जवाफमा ओलीले सरकार फेरबदल एमालेको चासो र सरोकारको विषय नभएकाले एउटै चरणमा निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । ‘सरकार परिवर्तन हुने–नहुने, त्यसमा को जाने-नजाने, हाम्रो चासो र सरोकारको विषय होइन,’ ओलीको भनाइ थियो, ‘तर, निर्वाचन एउटै चरणमा हुनुपर्छ, निर्वाचन आयोगले कठिनाइ हुन्छ भन्यो भने ‘एक डेढ हप्ताको समय ग्याप राखेर दुई चरणमा चुनाव गर्न सकिन्छ ।’

एमाले महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र निर्वाचनमा केन्द्रित रहेर कुराकानी भए पनि कांग्रेसले आफ्ना कुरा प्रस्टसँग नराखेको बताए । ‘उहाँहरूले संशोधन विधेयकमा सहयोग गर्नुपर्यो भन्दै सहयोग माग्नुभयो,’ भेटमा सहभागी एमाले महासचिव पोखरेलले भने, ‘हाम्रो अध्यक्षले संशोधनको भाषा पढ्नुभएको छ कि छैन भन्दै प्रस्ट्याएपछि धेरै प्रस्ट कुरा नराखी उहाँहरू फर्किनुभो ।’ भेटमा कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव पोखरेल सहभागी थिए ।

एमालेको अडान : सरकारले संविधान फेर्न सक्दैन
अध्यक्ष केपी ओलीसहित एमाले नेताहरूले सरकारले नै संविधान फेर्न सक्ने गरी विधेयकमा प्रस्ताव आएको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए । भाषा आयोगको सिफारिसमा सरकारी कामकाजको भाषालाई सरकारले निर्णय गरेर संविधानको अनुसूचीमा राख्ने विषय गम्भीर भएको भन्दै ओलीले संसारमा यसैगरी संविधान फेर्ने व्यवस्था कहाँ छ भन्दै प्रश्न गरेका हुन् । जवाफमा देउवाले विधेयकको उक्त मस्यौदा कार्यदलमा रहेका राजेन्द्र श्रेष्ठको प्रस्तावमा आएको जानकारी दिँदै गलत नियतले आएको–नआएको बुझेर मात्रै जवाफ दिन सक्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्