Logo

सन्डरल्याण्ड रेलिगेसनमा



काठमाडौं, १७ वैशाख । इङ्लिस फुटबल क्लव सन्डरल्याण्ड प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा बर्नमाउथसँग १–० ले पराजित भएपछि सण्डरल्याण्डको प्रिमियरशीप यात्रा टुंगिएको हो ।

१० वर्षे प्रिमियर डिभिजनको बसाईमा थुप्रै पटक रेलिगेसनको संघारमा पुगेर पनि जोगिँदै आएको सण्डरल्याण्ड यसपटक भने जोगिन सकेन । गएरातिको हारपछि अंक तालिकाको पुछारमा रहेको सण्डरल्याण्ड ४ खेल खेल्न बाँकी छँदै रेलिगेसनमा परेको हो । सण्डरल्याण्डले अब आगामी सिजनमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

गएरातिको खेलमा बर्नमाउथका जोसुवा किङले ८८ औं मिनेटमा निर्णायक गोल गरेपछि सण्डरल्याण्डको रेलिगेशन पक्का भएको थियो ।

प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र बर्नले पनि विजयी भए । लेष्टर सिटीका जेमी भार्डीले निर्णायक गोल गरेपछि वेष्ट ब्रोम १–० ले पराजित भयो ।

यसैगरी बर्नलेले क्रिष्टल प्यालेसलाई २–० ले हरायो । गएराति भएका अन्य खेलमा साउथह्याम्पटन र हल सिटी तथा स्टोक सिटी र वेष्ट ह्याम युनाईटेडले गोलरहीत बराबरी खेलेका छन् ।

इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति उपाधि दावेदारहरुले खेल्नेछन् । तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले सातौं स्थानको एभर्टनसँग खेल्दा दोस्रो स्थानको टोटनह्याम हट्सपरले छैटौं स्थानको आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।  यसैगरी म्यान्चेस्टर युनाईटेड र स्वान्सी सिटी तथा मिडिल्सब्रो र म्यान्चेस्टर सिटी भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्