Logo

अनलाइनमार्फत घटना दर्ता काम तीव्र गतिमा



काठमाडौँ, १७ वैशाख । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जीकरण विभागले अनलाइनमार्फत घटना दर्ता काम तीव्र गतिमा सञ्चालन गरेको छ ।

विभागले जन्म, मृत्यु, बसाइँसराइँ, सम्बन्धविच्छेद र विवाह प्रणालीलाई व्यवस्थित बनाउनका लागि अनलाइनमार्फत घटना दर्ता गर्ने कामलाई तीव्रता दिएको विभागका महानिर्देशक अनिलकुमार ठाकुरले बताउनुभयो । देशका सबै स्थानीय तहमा अनलाइनमार्फत घटना दर्ता गर्न विभागले तालिम दिइरहेको छ । उहाँले भन्नुभयो, “रकम वितरण गर्न सहज होस् भनेर सबै रेकर्डहरु कम्युटरमार्फत राख्न सबै स्थानीय तहमा तालिम दिने काम गरिरहेका छौँ ।”

विभागले काठमाडौँ उपत्यकाभित्र ललितपुर जिल्लाका तीन गाउँपालिकाबाहेक सबै वडा कार्यालयबाट अनलाइनमार्फत घटना दर्ताको काम गरिरहेको छ । विसं २०७१ असोजमा स्थापित विभागले सोही वर्षको माघदेखि काठमाडौँमा अनलाइनमार्फत घटना दर्ताको काम सुरुआत गरेको थियो ।

विभागका महानिर्देशक ठाकुरले स्थानीय तहको संरचनासँगै सबै नगरपालिका तथा वडामा सेवा दिन यही वैशाखदेखि तीव्र गतिमा काम गरिएको र हालसम्म छ सय ८७ कार्यालयमार्फत काम भइरहेको बताउनुभयो ।

विभागले सबै महानगरपालिकालाई आगामी जेठ मसान्तभित्र व्यक्तिगत घटनालाई अनलाइनमार्फत सञ्चालन गर्न निर्देशनसमेत दिइसकेको छ । यस्तै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको केन्द्रीय कार्यालयमार्फत जेठ १५ सम्म सेवा दिन निर्देशन दिइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्