Logo

लोहनी, ओली र ज्ञानेन्द्रको गोप्य सहमतिसँगै राप्रपाका १० सांसद गायब !



काठमाडौं, १७ बैशाख । संविधान संशोधन प्रस्ताव पारित गराउन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गर्न डाकिएको राप्रपाको पार्टीको संसदीय दलको बैठकमा १० सांसदहरु नै अनुपस्थित् भएपछि अहिले यसको कारण र रहस्यबारे खैलाबैला मच्चिएको छ।

सरकारले हालै सदनमा दर्ता गराएको परिमार्जनसहितको संविधान संशोधन विद्येयक पारित गर्ने निर्णय राप्रपाले गरिसकेको छ । तर प्रस्तावको पक्षमा भोट नहाल्ने भन्दै राप्रपाभित्रका असन्तुष्ट सांसदहरुले आईतबार डाकेको संसदीय दलको बैठक नै बहिष्कार गरेपछि अहिले यो विषय निकै चर्चाको शिखरमा छ । प्रस्तावको विपक्षमा जाने भन्दै उपस्थित नहुने राप्रपा सांसदहरुमा रामकुमार सुब्बा, विराज विष्ट, रेशम लामा, रमेशकुमार तामाङ, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ र बविता लावती मोक्तान लगायत रहेका छन् ।

सूत्रहरुले बताए अनुसार राप्रपाभित्र यस्तो अवस्था आउनुमा हालै राप्रपा परित्याग गरेर नयाँ पार्टी खोलेका डा. प्रकाशचन्द्र लोहनीको ठूलो हात रहेको छ । लोहनीले राप्रपाभित्र फाटो ल्याउनको लागि ठूलै कसरत गरेको खुल्न आएको छ । लोहनी सुरुवातदेखि नै सरकारले ल्याएको यो संशोधन प्रस्तावको विपक्षमा थिए ।

उनले यो प्रस्ताव संसदमा टेबलु हुँदा खेरि नै यसलाई कुनैपनि हालतमा पारित गराउन नसकिने अडान लिएका थिए । तर अध्यक्ष कमल थापाले प्रस्तावलाई पारित गराउने उद्देश्यसहित सरकारमा सहभागिता जनाएपछि उनी राप्रपाबाट अलग भएका थिए ।

यतिमात्रै नभएर लोहनीले यो विषयमा राप्रपाका प्रभावशाली एवम् पूराना नेता केशरबहादुर विष्टसँगपनि सल्लाह गरेर नै राप्रपाका सांसदहरुलाई प्रस्तावको विपक्षमा उभिन कसरत गरेको खुल्न आएको छ ।

लोहनी निकट उच्च स्रोतका अनुसार यो वीचमा उनले प्रस्तावको विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि निरन्तर सम्पर्क गरिरहेका थिए । दुई नेताहरुवीच संशोधन प्रस्ताव जसरी भएपनि असफल बनाउनेबारे रणनीतिक–योजनाका साथ पटक पटक गोप्य वार्ताहरु भएको स्रोतको दाबी छ ।

त्यस्तै लोहनीले संशोधन प्रस्ताव असफल बनाउनेबारे आफ्नो तर्फबाट सक्दो प्रयास गरेका छन् । उनले यो बीचमा पूर्वराजा ज्ञानेन्द्र शाहसँगपनि छलफल गरेको बुझिएको छ । त्यसैको प्रभावमा राप्रपाका सांसदहरु आजको बैठकमा उपस्थित् नभएको हुन सक्ने पनि स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्