Logo

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



रत्ननगर (चितवन), १८ वैशाख । पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास अगाडि सो दुर्घटना हुँदा राप्ती नपा– ६ का ४० वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम आउने क्रममा यहाँ रोकिराखेको ना३ख ९३९६ नंको टिपरमा विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४७ नंको पल्सर मोटरसाइकल ठोक्किँदा चालक चौधरीको मृत्यु भएको हो ।

आइतबार साँझ भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको गएराति उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

तालिमका क्रममा गोली लाग्यो

यसैगरी चितवनको भरतपुरमा प्रहरीको तालिमका क्रममा हानेको गोली लागेर एक जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका– ११ बसेनीको जङ्गलमा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरी जवान आधारभूत तालिमका क्रममा आइतबार फायरिङ क्षेत्रमा पुगेका एक जना स्थानीयलाई गोली लागेको हो ।

राइफलबाट फायरिङ भइरहेका अवस्थामा भरतपुर–११ ग्याल्बाटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर कुमाललाई गोली लागेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
उनको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको र गोली निकालिएकाले खतरामुक्त रहेको प्रहरीले जनाएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्