Logo

घुस लिने नासु पक्राउ



खोटाङ, १८ वैशाख । अहेबको जागिर लगाइदिन्छु भन्दै घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् ।

अस्थायी करारमा अहेबको जागिर खान फारम भरेका १३ जना आवेदकबाट प्रतिव्यक्ति रु ३५ हजारका दरले घुस लिने अस्पतालका नायब सुब्बा केदारनाथ खनाल आइतबार पक्राउ परेका हुन् ।

अस्पताल परिसरबाटै पक्राउ परेका नासु खनाललाई जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासनमा बुझाएको छ । खनालले आवेदकबाट आफूले घुस लिएको स्वीकार गर्दै तत्काल सावाब्याज फिर्ता दिने बताएका छन् ।

पक्राउ परेका खनालका बारेमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले बताउनुभयो । “उनले कमजोरी गरेकै भन्ने बुझिएको छ”– उहाँले भन्नुभयो, “छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछु ।”

नासु खनालले आवेदकबाट घुस लिएको थाहा पाएपछि नेपाली काँग्रेस खोटाङले अस्पतालमा तालाबन्दी गरेको छ । भ्रष्टचारीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै काँग्रेसले आइतबार बिहानैदेखि अस्पतालमा तालाबन्दी गरेको हो ।

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले गत माघमा खोटाङका लागि ३० जना अहेबको अस्थायी करार कोटा खुलाएको थियो । नासु खनालले घुस लिएका व्यक्ति कोही पनि नपरेपछि उक्त विषय बाहिर आएको थियो ।

तीस वर्ष लामो अवधिसम्म सेवा गरेका नासु खनाल यसै वर्ष अधिकृतको बढुवा लाइनमा रहेका अस्पताल स्रोतले जनाएको छ । दुई वर्षमात्र सेवा अवधि रहेका खनालको उक्त काण्डले जागिरसमेत धरापमा परेको छ । रासस



प्रतिक्रिया दिनुहोस्