Logo

निर्वाचनमा बालबालिका प्रयोग नगर्न ध्यानाकर्षण



बाजुरा, १८ वैशाख । जिल्लामा रहेको नागरिक समाज बाजुराले बालबालिकाको अवस्थाका बारेमा विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

नागरिक समाज बाजुराले स्थानीय तहको निर्वाचनमा बालबालिकालाई प्रयोग नगर्न जिल्लाका राजनीतिक दल, जिल्ला शिक्षा कार्यालय र निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

बालबालिकाले स्वतन्त्र रुपमा पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष अग्नि शाहीले बताउनुभयो । विद्यालयमा कक्षा सञ्चालन हुनुपर्ने र विद्यार्थीले स्वतन्त्र रुपमा पढ्न पाउनुपर्ने भन्दै जिल्लाशिक्षा कार्यालय बाजुरालाई तीनबँुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

स्थानीय तहको निर्वाचनमा विद्यालयलाई प्रयोग नगरी विद्यालय बन्द गर्ने प्रवृत्तिलाई न्यूनीकरण गर्नुपर्ने, निर्वाचनमा शिक्षकलाई यथाशक्य कम प्रयोग गर्नुपर्ने र विद्यालयको पूर्वाधार संरक्षणमा ध्यान दिनुपर्नेलगायत माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । नागरिक समाजले विद्यार्थी भर्ना अभियान सकिए पनि पाठ्यपुस्तक नपुगेको भन्दै जिल्ला शिक्षा कार्यालय बाजुरालाई ध्यानाकर्षण गराएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालयमा रहेका बालबालिकाको अवस्थाका बारेमा प्रहरी निरीक्षक सुदाम रावलसँग पनि जानकारी लिइएको छ । अहिले जिल्ला प्रहरी कार्यालय बाजुरामा पाँच जना बालबालिका रहेका छन् ।

दुई जना माविमा भर्ना भएका छन् भने दुई जना उमाविमा पढ्दै र एक अन्यगरी पाँच जना प्रहरी हिरासतमा रहेको जिप्रका बाजुराले जनाएको छ । उनीहरु झै–झगडासम्बन्धीको सार्वजनिक मुद्दाअन्तर्गत अनुसन्धानको प्रक्रिया भइरहेको सूचना अधिकारी सुदाम रावलले बताउनुभयो ।
यता जिल्लाका राजनीतिक दलले बालबालिकालाई स्थानीय तहको निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्