Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटवार्तामा उहाँहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोगका विषयमा छलफल भएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन र प्रधानन्यायाधीशको महाअभियोगका विषयमा जिज्ञासा राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्री प्रचण्डले घोषित वैशाख ३१ गतेको निर्वाचन समयमै हुने बताउनुभएको थियो ।

“घोषित निर्वाचन नरोकिने र पछिल्ला राजनीतिक घटनाक्रमले कुनै असर पार्दैन” – प्रधानमन्त्रीलाई उद्धृत गर्दै उहाँका सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रपतिले प्रधानन्यायाधीशका सम्बन्धमा राख्नुभएको जिज्ञासामा प्रधानमन्त्रीले व्यवस्थापिका–संसद्भित्रको लोकतान्त्रिक विषय भएको स्पष्ट गराउनुभएको आचार्यले बताउनुभयो । करिब डेढ घन्टा भएको भेटवार्तामा अन्य समसामयिक विषयमा छलफल भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्