Logo

आगलागीमा सात लाखको क्षति, एकजना घाइते



सप्तरी, १८ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा गएराति आगलागी हुँदा रु सात लाख मूल्य बराबरको क्षति भएको छ ।

गएराति आएको हाबाहुरीले स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा बालिएको घुरबाट अचानक सल्केको आगोले निजको फुसको छानो भएको एउटा गाईगोठ र गोठमा भएका दुईवटा गोरु जलेर मरेको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा मियाँसमेत घाइते भएका छन् । उनको लहानस्थित राउ स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै छिमेकी भीमनारायण साहको भुइँतले फुसको एउटा घर जलेको छ ।घरभित्र रहेको कच्ची घर, टायर गाढालगायतका सामान जलेको प्रहरीले जनाएको छ ।

यस्तै अर्का सोही ठाउँका हरिनारायण साहको समेत एउटा फुसको छानो भएको घर जलेको बताइएको छ ।आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन नगद जिन्सी गरी रु सात लाख मूल्यबराबरको क्षति भएको पीडित परिवारले बताएका छन् ।

आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजविराजबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्