Logo

कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ : यादव



काठमाडौं, १८ बैशाख । संघीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधिश सुशिला कार्कीमाथि सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले दर्ता गराएको महाअभियोग प्रस्ताव सर्वोच्च अदालतको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको आरोप लगाएको छ ।

सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती जारी गरेर यस्तो आरोप लगाएका छन् । अध्यक्ष यादवको हस्ताक्षरमा जारी गरिएको एक विज्ञप्तीमा भनिएको छ,‘सम्माननीय प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रद्धारा व्यवस्थापिका संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावले संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला मात्र नभई सरकार (कार्यपालिका) ले स्वतन्त्र न्यायपालिकामाथि नियन्त्रण र सर्वोच्च अदालतको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप गर्ने कार्य लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको मूल्य र मान्यताका विपरीत रहेका छन् ।’

विज्ञप्तीमा थप भनिएको छ,‘यसरी सत्तामा रहेका व्यक्तिहरुले गैरकानूनी तरिकाबाट आफ्ना व्यक्तिगत, गुटगत र दलगत स्वार्थ परिपूर्ति गर्नका लागि राजकीय सत्ता र शक्तिको दुरुपयोग गरी स्वतन्त्र न्यायालयलाई प्रभाव पार्नु वा पार्न खोज्नु अत्यन्तै गैरलोकतान्त्रिक चरित्र र व्यवहार हो । तसर्थ, उक्त महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गरिनु पर्दछ ।’



प्रतिक्रिया दिनुहोस्