Logo

खेलको विकासमा सरकारले उल्लेखनीय काम गरेको छ : मन्त्री श्रीपाइली



काठमाडौँ, १८ वैशाख । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलको विकासका लागि सरकारले उल्लेखनीय काम गरेको बताउनुभएको छ ।

नेपाल तेक्वान्दो सङ्घले सोमबार आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री श्रीपाइलीले नेपालको खेलको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “खेलाडीका लागि अस्पताल निर्माण, खेल विश्वविद्यालय, खेलाडी प्रोत्साहन भत्ता, स्वास्थ्य बिमा, परिचयपत्र वितरण, प्रत्येक विद्यालयमा खेलमैदान निर्माण, प्रत्येक प्रदेशमा रङ्गशाला निर्माणलगायतका कामलाई मन्त्रालयले अगाडि बढाएको छ ।”

मन्त्री श्रीपाइलीले सरकारले अनाथ बालबालिकाको सहयोगका लागि पनि विभिन्न कार्यक्रम अगाडि बढाएको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले अनाथ बालबालिकालाई तेक्वान्दो खेलाडीमार्फत आत्मबल बढाउन सङ्घले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले अनाथ बालबालिकाको वृत्तिविकासका लागि राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले प्राकृतिक र राजनीतिक घटनाक्रमका कारण आफ्ना अभिभावक गुमाएका अनाथ बालबालिकाका लागि तेक्वान्दो तालिम १० महिनाका लागि सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले विभिन्न आठ संस्थाका २५० बालबालिकालाई उक्त तालिम दिइने बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्