Logo

ओलीले धमलाको नाम लिएरै भने,‘धमलाको हमलाजस्तो प्रश्न नगर्नुहोस्’



‘किर्तेको अपराधबाट जोगिन महाअभियोग ल्याइएको हो’
काठमाडौं, १८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार ऋषि धमलाको नाम नै किटान गरेर आफूलाई धमलाको हमला कार्यक्रममा जस्तो प्रश्न नगर्न आग्रह गरेका छन् ।

सोमबार पार्टी मुख्यालयमा आयोजित पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफ्नो भनाई राखेपछि पत्रकार धमलाले ओलीसामू निकै कडा प्रश्न तेर्साएका थिए । धमलाले प्रधानन्यायाधिश कार्कीमाथि महाअभियोग लगाएको विषयलाई लिएर अब तपाई के गर्नुहुन्छ ? प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्नुहुन्छ भनेर सोधेको प्रश्नमा,‘मलाई कडा प्रश्न नगर्नुहोस्।’

पत्रकार धमला यतिमै रोकिएनन । उनले फेरि प्रश्न तेर्साए,‘प्रमुख प्रतिपक्षी दलको संसदीय दलको नेता भनेको वेटिङ प्रधानमन्त्री हो, अब भन्नुहोस्, तपाई प्रचण्ड सरकार ढाल्न सक्नुहुन्छ ।’ धमलाको प्रश्नपछि ओलीले भने,‘वेटिङ्मा त अरु कोही नै पहिले नै क्युमा छन्, म होईन।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सर्वाेच्च अदालतले सरकारको आदेश तामेली गर्न नमानेकाले सत्तारुढ दलहरुले प्रधानन्यायाधीश विरुद्ध महाभियोग लगाएको आरोप लगाए । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग बदनियतपूर्ण भएको भन्दै ओलीले उक्त महाअभियोगको प्रस्ताव भोलि (मंगलबार) नै फिर्ता लिन पनि आग्रह समेत गरेका छन् ।

अध्यक्ष ओलीले भने, ‘आज सार्वजनिक विदा परेकाले म आजै फिर्ता लिन भन्दिनँ, भोलि विदाको दिन छैन, बदनियतपूर्ण महाभियोग भोलि नै फिर्ता लिन म आग्रह गर्छु, डीआइजीको कार्यसम्पादन मुल्यांकनमा सरकारले किर्ते गरेको पोल खुल्ने र फस्ने डरले त्यसबाट बच्न मुद्दा फैसला हुनुअघि नै महाभियोग ल्याएका हुन् ।’

उनले कुनै पनि निकायले गैरकानुनी काम गरे त्यसको सुनुवाई गर्ने काम न्यायालयको भएकाले न्यायालय कार्यपालिकाको आदेशपालक हुन नसक्ने स्पष्ट पारे । ओलीले तत्कालिन अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता सम्बन्धमा सर्बाेच्चले अयोग्य भनी फैसला गरेकै बेलादेखि प्रधानन्यायाधीश विरुद्ध महाभियोग लगाउने तयारी भएको पनि खुलासा गरे । त्यस्तै उनले महाभियोग प्रस्ताव संसदबाट पारित गर्ने उद्धेश्यका साथ नभई किर्तेको अपराधबाट जोगिन ल्याइएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्