Logo

कमल थापा आउट भएसँगै गच्छदारको शानदार ईन्ट्री



प्रचण्ड सरकार बलियो भएको दाबी !

काठमाडौं, १८ बैशाख । दुई दिन यता नेपाली राजनीतिमा एकपछि अर्को तरँग पैदा भैरहेको छ ।

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदहरुले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरे लगत्तै सरकारका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिए । त्यसको भोलिपल्टै आज अर्थात सोमबार साँझ सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीलेपनि सरकारबाट समर्थन फिर्ता लिएको छ । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापासहित अन्य तीन जना र एक जना राज्यमन्त्रीले पनि आजै राजिनामा दिएका छन् ।

राप्रपाले सरकारको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार संकटमा परेको बुझिन्छ । तर वर्तमान सरकारमा रिक्त रहेका दुई उपप्रधान र ५ मन्त्रालयको नेतृत्व गर्न विजय कुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक तयार भएको छ । स्रोतका अनुसार गच्छदारले कमल थापाले नेतृत्व गरेको मन्त्रालय सम्हाल्ने पक्का भएको छ । त्यस्तै उनको पार्टीबाट तीन जना थप मन्त्री बन्ने पक्का भएको छ ।

आजै साँझ प्रधानमन्त्री दाहालले राप्रपा सरकारबाट बाहिरिने भएपछि अध्यक्ष गच्छदारसँग सरकारमा उपप्रधानमन्त्रीसहितको भूमिकामा सहभागिताको लागि आग्रह गरेका थिए । भेटमा गच्छदारले ग्रिन सिग्नल दिएको स्रोतको दाबी छ । संभवत भोलि नै गच्छदार सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्नेगरि सहभागी हुने पक्कापक्की भएको छ ।

राप्रपाले सरकारबाट बाहिरिँदा पनि विगतमा संविधानका लागि दिएको समर्थन फिर्ता नलिने र सरकारलाई दिएको समर्थन कायम रहने निर्णय लिएको छ । संशोधन प्रस्ताव पारित गर्नको लागि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने दुरगामी निर्णय राप्रपा अध्यक्ष थापाले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्