Logo

तात्यो चुनावी माहोल : आज ३४ जिल्लामा उम्मेदवार मनोनयन आज



काठमाडौं १९ बैशाख । पहिलो चरणमा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दाखिला गर्दैछन् ।निर्वाचन आयोग प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सोमबार आयोगमा गरेको पत्रकारसम्मेलनमा पहिलो चरणअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुने जानकारी दिनुभएको हो।

उहाँले त्यसको सबै तयारी पूरा भएको जानकारी दिँदै निर्वाचनमा सहभागी हुन सबैसँग आह्वान पनि गर्नुभयो ।प्रमुख आयुक्त यादवले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने क्रममा यो ऐतिहासिक निर्वाचन हुन लागेको बताउँदै भन्नुभयो, ‘वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनका लागि वैशाख १९ गते मंगलबार उम्मेदवार मनोनयन गर्र्ने पवित्र दिन हो ।’ उम्मेदवार मनोनयनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै आयोगले निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू खटाएको र महिला, दलित, अल्पसंख्यकलगायत सबै उम्मेदवार मनोनयन दर्ता गर्न उहाँले आह्वान गर्नुभयो ।

यादवले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाबाट निर्वाचित हुने जनप्रतिनिधिबाट स्थानीय तहमै लोकतन्त्रको वास्तविक अभ्यास भई जनताले लोकतन्त्रको लाभ उपभोग गर्ने विश्वास आयोगले लिएको बताउनुभयो । निर्वाचनलाई पर्वका रूपमा लिएर बडो उत्साहका साथ उम्मेदवारी दर्ता गर्न र गराउन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसँग उहाँले अनुरोध गर्नुभयो ।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३ ले व्यवस्था गरेअनुसार महिला, दलित, अल्पसंख्यकका लागि यो ऐतिहासिक अवसर भएको बताउँदै उहाँले भन्नुभयो, ‘राष्ट्रले तपार्इंको नेतृत्व विकासको अपेक्षा गरेको छ । तसर्थ तपार्इंहरू अघि बढ्नुहोस् र स्थानीय सरकारमा निर्वाचित भएर आफ्नो गाउँ/नगरको विकास अभियानमा सरिक हुनुहोस् ।’
नगरपालिकाको प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानलाई राजनीतिक दलहरूले उत्साहपूर्वक लिनुपर्नेमा उहाँले जोड दिनुभयो । वडा तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको, महिला, दलित, अल्पसंख्यकलगायतको उम्मेदवारी मनोनयन दस्तुर ५० प्रतिशत छूट दिने व्यवस्था रहेको, उम्मेदवारी दर्ताका लागि वैशाख १९ गते मंगलबार बिहान १० देखि ५ बजेसम्मको समय तय गरिएको जानकारी पनि प्रमुख निर्वाचन आयुक्तले दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्