Logo

बाह्रै महिना गर्मी नहुने जेफाले : पर्यटकलाई आकर्षणको केन्द्र



पथरी मोरङ, १९ वैशाख । मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ ।

त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच पुग्छ ।

सडक, सञ्चार र सुरक्षाको व्यवस्था नभए पनि आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ – उत्तरी मोरङको सिंहदेवी–५ स्थित जेफाले सामुदायिक होमस्टे ।

होमस्टेका लागि सुविधासम्पन्न पाँचवटा घर र सम्पूर्ण पूर्वाधार तयार भएपनि त्यहाँसम्म पुग्ने सडक, सञ्चार र सुरक्षाको व्यवस्था नहुँदा जेफाले ओझेलमा परेको हो । धनकुटाको भेडेटार र नाम्जेलाई बिर्साउने जेफाले सुगम जिल्लाको दुर्गम गाउँमा भएपनि यतिबेला पूर्वमा पहिलो रोजाइको गन्तव्य भएको छ ।

जेफालेमा निर्माण गरिएको भ्यू टावरबाट पूर्वाञ्चलका १६ वटै जिल्लाको अवलोकन गर्न सकिन्छ । त्यति मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफालेबाट सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमाल पनि देख्न सकिन्छ ।

आकाश खुलेको बेला तराईका फाँटिला जग्गा, गाउँ सहरको मनोरम दृश्य देखिने जेफालेको भ्युटावर समुन्द्र सतहदेखि एकहजार नौसय ७० मिटरको उचाइमा रहेको छ ।

जिल्ला समन्वय समिति मोरङको रु ३६ लाख ५० हजार, धनकुटा जिविसको रु पाँच लाख, विराट पर्यटन केन्द्र, काँकडभिट्टाको रु २१ लाख र स्थानीयवासीको रु आठ लाख बराबरको जनश्रमदान गरी कुल रु ७० लाखमा भ्युटावरको निर्माण गरिएको हो । सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्युटावर पुगिन्छ ।

चारतले भ्युटावर बनेपछि सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक आउन थालेको जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीले बताउनुभयो । धेरै सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सजिलो मोटर बाटो, प्रहरी सुरक्षा र सञ्चारको व्यवस्था नहुँदा त्यहाँ पुगेका पर्यटकलाई असजिलो हुने गरेको छ ।

स्थानीयवासी मनोज अधिकारी भन्नुहुन्छ, “सञ्चारका लागि टेलिफोनको टावर, एउटा प्रहरी पोष्ट र सडकको व्यवस्था सरकारले गरिदिए जेफालेको पर्यटन प्रवद्र्धन आफैँ हुन्छ ।”

पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको कोसीहरैचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्छ । छिनभरमा घाम झुलुक्क देखिन्छ अनि छिनभरमै पानी पर्न थाल्छ । बाह्रै महिना गर्मी नहुने जेफालेको मुख्य विशेषता नै चिसो मौसम भएको सदस्य ठकुरीले बताउनुभयो ।

भ्युटावरको दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर रहेको छ जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने स्थानीयवासी युवराज खड्काको भनाइ छ ।

जेफाले क्षेत्रमा मृग, हरिण, बँदेल, खरायो, लोखर्केजस्ता जङ्गली जनावर हेर्न पाइन्छ । जेफाले सामुदायिक वनले सो क्षेत्रमा सिकार गर्न बन्देज लगाएपछि जङ्गली जनावर, कालिजलगायत चराचुरुङ्गीले जेफालेको सुन्दरता अझ बढाएका छन् ।

छिनछिनमा कुहिरोले छोप्ने अनि छिनभरमा उघ्रने, पानी पर्ने, घाम देखिने जेफालेको मुख्य आकर्षण यति मात्र होइन । शान्त वातावरणमा उत्तरतर्फ बाह्रै महिना हरियो देखिने जङ्गलको थुम्कोमा भ्युटावर छ, त्यही डाँडाको काखमा जिल्लाको एक मात्र मातृभूमि चिया बगान बसेको छ ।

जेफाले वरिपरिका कुनै पनि डाँडा रुखो छैनन् । अदुवा, अलँैची, अम्लिसो र चियाले भरिभराउ भएका डाँडा साँच्चिकै लोभलाग्दा देखिन्छन् । जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ ।

त्यहाँको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाँडाबाट देखिने दृश्यको प्रचार हुन सके बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सकिने होमस्टे सञ्चालक उमा ठकुरीले बताउनुभयो । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था मिलाइएको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्