Logo

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु



काठमाडौँ, १९ वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा आई उम्मेदवारले मनोनयन दर्ता सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शमाले जानकारी दिनुभयो । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तह निर्वाचन हुन लागेको हो ।

पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा सञ्चालन हुने सो निर्वाचनमा तीन वटै प्रदेशमा गरी चार महानगरपालिका, एक उपमहानगर र ९२ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि मनोनयन दर्ता हँुदैछ ।

यसैगरी महानगरका एक सय २३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार तीन सय ६५ गरी जम्मा दुई हजार पाँच सय ९८ वडाध्यक्षका लागि मनोनयन हुँदैछ । साथै दुई हजार पाँच सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार तीन सय ९२ वडा सदस्यका लागि मनोनयन हुने आयोगले जनाएको छ ।

२५९८ वडा सदस्यमा महिला र दलित महिला गरी पाँच हजार एक सय ९६ वडा सदस्यका लागि महिलाको उम्मेदवारी हुनेछ । प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका लागि हुने निर्वाचनमा४९ लाख ५६ हजार नौ सय २५ मतदाता छन् । निर्वाचन प्रयोजनका लागि छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ ।

राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ । वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्