Logo

यी हुन काँग्रेसका चार महानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार



काठमाडौं, १९  बैशाख । नेपाली काँग्रेसले ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्बाचनका लागि चार महानगरपालिकामा उम्मेदवारको नाम लगभग टुंगो लगाएको छ ।

नेता राजुराज जोशीलाई काठमाडौं महानगरपालिकाको उम्मेद्वार बनाएको छ भने उपमेयरमा हरिप्रभा खड्गीलाई चयन गरेको छ । जोशी २०४७ सालमा जिल्ला कार्यसमिति काठमाडौंका सचिव हुन् । हाल जोशी कांग्रेसको महासमिति सदस्य छन् । जोशी उद्योगमन्त्री नविन्द्रराज जोशीका दाई हुन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पनि टुङगो लगाएको छ । केहीबेर अघि मात्रै सकिएको बैठकले मेयरमा दिनेश कोइराला र उप-मेयरमा पार्वती शाहलाई उठाउने निर्णय गरेको छ ।

यसअघि भरतपुरको मेयरमा टेकप्रसाद गुरुङ, मिलनबाबु श्रेष्ठ, राजेश्वर खनाल, प्रकाश अधिकारी, डा.सूर्यकान्त घिमिरेलगायत ३४ जनाको नाम चितवनबाट केन्द्रमा सिफारिस गरिएको थियो ।

ललितपुर महानगरपालिकाको मेयर र उपमेयरको टुंगो पनि टुंगो लागेको छ । मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा गीता सत्यालको नाम फाइनल गरेको छ । पोखराको लेखनाथ महानगरपालिकामा मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ ।

मेयरका उम्मेदवार कुँवर ट्रेड युनियन कंग्रेसका वरिष्ठ उपाध्यक्ष हुन् । लामो समयदेखि राजनीतिमा आवद्ध कुँवर नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन् । सरस्वती गुरुङ पनि पोखरामा लोकप्रिय अनुहार हुन् । गुरुङ तमु धी नेपालको उपाध्यक्षसमेत हुन् ।

 



प्रतिक्रिया दिनुहोस्