Logo

चार महानगरपालिकामा यी हुन् माओवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदवार



काठमाडौं, १९  वैशाख । नेकपा माओवादी केन्द्रले चार ओटै महानगरपालिकाका उम्मेदवार चयन गरेको छ ।

जिल्ला समितिको सिफारिसमा मंगलबार बिहान सबै महानगरपालिकाका उम्मेदवार चयन गरिएको सो पार्टीले जनाएको छ ।

माओवादीले काठमाडौंका प्रमुखमा सर्वोत्तम डंगोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । डंगोल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा नगर समितिको इन्चार्जसमेत हुन् ।

उपप्रमुखका प्रत्याशी पौडेल केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

यस्तै, ललितपुर महानगरपालिकामा दिनेश महर्जन प्रमुख र उपप्रमुखमा मञ्जरी शाक्यलाई उम्मेदवार बनाइएको छ ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि दाहालकाअनुसार जिल्लाका सबै स्थानीय तहको उम्मेदवार चयन गरिएको छ ।

ललितपुर महानगरका प्रमुखका उम्मेदवार महर्जन पार्टी ललितपुर नगर इन्चार्ज र केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

उपप्रमुखका उम्मेदवार शाक्य स्थानीय सामाजिक कार्यकर्ताकारुपमा क्रियाशील छिन् ।

यस्तै, भरतपुर महानगरका प्रमुखमा रेणु दाहाललाई तथा उपप्रमुखमा ईश्वर सापकोटालाई उठाइने भएको छ ।

प्रमुखका उम्मेदवार दाहाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सापकोटा स्थानीय नेता हुन् ।

यस्तै, क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो मानिएको पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा माओवादी केन्द्रले विश्वप्रकाश लामिछानेलाई उम्मेदवार बनाएको छ ।

यस्तै, उपप्रमुख उम्मेदवारमा गोमा ढकाललाई अगाडि सारिएको छ ।

पोखरा–लेखनाथ महानगरका प्रमुखका प्रत्याशी लामिछाने पोखरा नगर विकास समितिका पूर्वअध्यक्ष हुन् ।

पोखराको परिचयकारुपमा रहेको फेवाताल संरक्षणको विशेष योजना तयार पारेका उनी माओवादी केन्द्रका नेता हुन् । यस्तै, उपप्रमुखका उम्मेदवार ढकाल स्थानीय सामाजिक कार्यकर्ताकारुपमा क्रियाशील छन् । रासस

 



प्रतिक्रिया दिनुहोस्