Logo

देउवाले खोज्दा निधि गायब, राजिनामा दिएपछि के मा व्यस्त छन् निधि ?



काठमाडौं, १९ बैशाख । उपप्रधान एवम् गृहमन्त्रीबाट राजिनामा दिएका विमलेन्द्र निधि यतिवेला आराममा व्यस्त छन् । मुलुक स्थानीय तहको निर्वाचनमा होमिएको बेला देशको सुरक्षा निकायको प्रमुख जिम्मेवारीमा रहेका गृहमन्त्रीबाट राजिनामा दिएपछि निधिको बारेमा विभिन्न टिकाटिप्पणी र चर्चा तथा परिचर्चा सुरु भएको छ । उनको राजिनामासँगै मुलुकको राजनीतिमा नयाँ तरंगहरु पैदा समेत भएका छन् ।

निधिले निर्वाचनको मुखमै आएर एक्कासी राजिनामा दिनुको बाहिरी कारण–सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनु रहेपनि भित्री कारणहरु भने पार्टी सभापति शेरबहादुर देउवासँगको बढ्दो विवाद र दुरी नै रहेको बुझिएको छ ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै उनले पदबाट राजिनामा दिए । धेरैले यो कुराको कल्पना पनि गरेका थिएनन् । अरु त परै जाओस्, स्वयम पार्टी सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यो घट्नाको कल्पना गरेका थिएनन् । उनको राजिनामालाई लिएर प्रधानमन्त्री दाहालले पटक पटक उनीसँग राजिनामा नगर्न आग्रह गरेका थिए, तर प्रधानमन्त्रीको आग्रहलाई पनि उनले लत्याएर आफ्नो अडानबाट एक ईन्चपनि दायाँबायाँ भएनन् । र अन्त्यमा उनले राजिनामा नै ठोके ।

सूत्रहरुले बताए अनुसार उनले आफ्नो राजिनामाबारे त्यही दिन प्रधानमन्त्री दाहाललाई र पार्टी सभापति देउवालाई फोनमार्फत आफ्नो राजिनामाबारे जानकारी गराएका थिए । फोनमा दुवै नेताले निधिलाई राजिनामा नगर्न आग्रह गरेका थिए । तर उनले कसैको कुरा पनि सुनेनन् । त्यतिमात्रै नभएर उनको राजिनामा लिखित रुपमा निधिका स्वकीय सचिव विश्वास विक्रमले प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए ।

यद्धपी उनले पदबाट राजिनामा दिएपनि वर्तमान सरकारले अघि सारेको संशोधन विद्येयकलाई भने उनले आफ्नो सँधै समर्थन रहने र पार्टीको निर्देशनलाई आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बुझाएको राजिनामा पत्रमा भनिएको छ,‘संविधानमा संशोधन गरी सबैको पक्षमा बनाउने र निर्वाचनको पक्षमा पूर्ववत सक्रिय रहीरहने प्रतिबद्धता जनाउँछु।’

राजिनामा दिएपछि उनी यतिवेला मन्त्रिक्वार्टरमै आराम गरेर बसिरहेका छन् । यो बीचमा उनी हिजोमात्रै पार्टी कार्यालय सानेपा पुगेका थिए । चुनावी प्रचार प्रसार कार्यक्रममा सहभागी हुन उनी पार्टी मुख्यालय पुगेको बुझिएको छ । उनले यो बीचमा थोरै कार्यकर्ताहरुसँगमात्रै भेटघाट गरेका छन् ।

उनी निकट स्रोतले भन्यो,‘उहाँ यतिवेला पूर्णतयः आराम गरिरहनुभएको छ, यो ९ महिनामा उहाँलाई निकै दौडधुप र धपेडी थियो, अहिले उहाँ आराम गरेर बस्नुभएको छ, अध्ययनमा पनि व्यस्त हुनुहुन्छ।’

उनको राजिनामा आजको दिनसम्मपनि स्विकृत भएको छैन । यो बीचमा उनलाई पार्टी सभापति देउवाले पटक पटक फोन सम्पर्क गर्दापनि उनले कुनै रेस्पोन्स नै गरेका छैनन् । स्रोतले भन्यो,‘राजिनामा दिएपछि पनि पटक पटक गरेर धेरै चोटी पार्टी सभापतिले उहाँलाई फोन गर्नुभएको छ, तर उहाँले फोन अहिलेसम्म उठाउनुभएको छैन् ।’



प्रतिक्रिया दिनुहोस्