Logo

तीनवटै प्रदेशमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता : प्रहरी



काठमाडौँ, १९ वैशाख । आज भएको ३, ४ र ६ प्रदेशको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले तीनवटै प्रदेशमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “सबै क्षेत्रमा उत्साहपूर्वक शान्तिपूर्ण ढङ्गले उम्मेदवारी दर्ता भएको विवरण आएको छ ।”

मुलुकका ७४४ वटा स्थानीय तहमध्ये आज तीन प्रदेशको ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा जनप्रतिनिधि छान्न मनोनयन दर्ता भएको हो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि ५ बजेसम्मको समय तय गरेकोमा ५ बजेभित्र लाइनमा बसेकाको साँझसम्म पनि केही जिल्लामा दर्ता प्रक्रिया जारी रहको छ ।

प्रदेश नं ३, ४ र ६ का सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा विभिन्न राजनीतिक दल, स्वतन्त्र दल र व्यक्तिले मनोनयन दर्ता गरेका छन् ।

संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा हुन् लागेको स्थानीय तहको ऐतिहासिक निर्वाचनले डेढ दशकदेखिको जनप्रतिनिधिको रिक्तताको अन्त्य गर्दै स्थानीय सरकार निर्माण हुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्