Logo

यस्तो छ निर्वाचनको सुरक्षा, प्रहरीसँगसँगै सेना



काठमाडौं २० बैशाख ।
स्थानीय तह चुनावका उम्मेदवार मनोनयनसँगै काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था थप कडा पारिएको छ । महानगरीय प्रहरी परिसर कार्यालय रानीपोखरीका अनुसार उपत्यकाका तीन जिल्लामा मात्रै ६ हजार ९ सय ८० प्रहरी र ४ हजार २ सय ६८ म्यादी प्रहरी खटाइएको छ ।

परिसर प्रमुख डीआईजी बमबहादुर भण्डारीले उम्मेदवार मनोनयनसँगै निर्वाचन सुरक्षा कडा पारिएको जानकारी दिए । मंगलबार बिहान मात्रै डीआईजी भण्डारीले काठमाडौं जिल्लाका सबै वृत्त र एकाइका प्रहरी अधिकारी बोलाएर सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए । उक्त भेलामा उनले सुरक्षाव्यवस्था थप चुस्त पार्न निर्देशन दिए ।

निर्वाचन चहलपहल बढेसँगै उपत्यकामा सुरक्षाजाँच बढाइने भएको छ । नियमित चेकजाँचअलावा आकस्मिक जाँच र उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको डीआईजी भण्डारीले बताए । परिसरले उपत्यकाको चुनावी सुरक्षाका निम्ति तीन चरणका कार्ययोजना तयार पारेको थियो । पहिलो चरणमा चुनावअघिको सुरक्षा, दोस्रो तहमा मतदानको दिनको सुरक्षा व्यवस्था र तेस्रो चरणमा मतगणनाको सुरक्षाव्यवस्था तय गरिएको छ । चुनावी सुरक्षाका लागि सादा पोसाकका प्रहरीको संख्या उल्लेख्य बढाइएको छ । डीआईजी भण्डारीले होटल तथा लजहरूमा पनि निगरानी र आकस्मिक जाँच बढाइएको बताए ।

– आकस्मिक चेकजाँचसँगै नाकामा कडाइ
– होटल/लजमा कसिलो निगरानी
परिसरले निर्वाचन बहिष्कारको घोषणा गरेका समूह र परम्परागत आपराधिक गिरोहलाई सुरक्षा चुनौतीका रूपमा विश्लेषण गरेको छ । डीआईजी भण्डारीले त्यस्ता समूहमाथि कडा निगरानी राखिएको बताए । चुनावी सुरक्षाका निम्ति परिसरले तालिमप्राप्त कुकुर पनि प्रयोग गरेको छ । परिसरले निर्वाचन सेल नै गठन गरी उपत्यकाका तीनै जिल्लाको ‘थ्रेट एसेसमेन्ट’ गरिरहेको छ । डीआईजी भण्डारीका अनुसार यो सेलले चुनावी सुरक्षामा समन्वयका साथै तीनै जिल्लाका प्रहरी परिसरलाई परिचालन गर्नेछ ।

उम्मेदवारको सुरक्षा सुरु
महानगरीय प्रहरी परिसरले उपत्यकाका तीनै जिल्लाका उम्मेदवारको व्यक्तिगत सुरक्षासमेत गर्न थालेको छ । डीआईजी भण्डारीका अनुसार उम्मेदवारी दर्ता गराएकाहरूको नाम, ठेगाना लिइसकिएको छ । उनले भने, ‘उम्मेदवार बस्ने क्षेत्रमा सुरक्षा निगरानी सुरु हुनेछ, उम्मेदवारको सुरक्षामा पनि ध्यान दिइनेछ ।’

सेना र दुवै प्रहरी तयारी अवस्थामा
नेपाल प्रहरीले पहिलो चरणको निर्वाचन हुने ३४ वटै जिल्लामा प्रहरी परिचालन सुरु गरिसकेको छ । प्रवक्ता सर्वेन्द्र खनालले चुनावी सुरक्षाका निम्ति ३४ वटै जिल्लामा थप प्रहरी पनि पुगिसकेको बताए । ‘सुरक्षा तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘सबै क्षेत्रमा प्रहरी परिचालन गरिसकियो ।’

नेपाल प्रहरीले ४ हजार ८ सय ८७ ‘रिजर्भ फोर्स’ सहित २२ हजार ६ सय ९५ प्रहरीलाई पहिलो चरणको निर्वाचन सुरक्षामा खटाएको छ । त्यस्तै, २२ हजार ६ सय ९९ म्यादी प्रहरी खटिएका छन् । प्रहरीले महानगरीय प्रहरी परिसर, विराटनगर र दिपायल सिलगढीस्थित प्रहरी क्षेत्रीय कार्यालय, प्रहरी महाविद्यालय नवलपरासी, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा रहेका ‘रिजर्भ’ प्रहरीलाई पनि निर्वाचन सुरक्षामा परिचालन गरेको छ ।

नेपाली सेनाका प्रवक्ता झंकर कडायतले ३४ मध्ये अधिकांश जिल्लामा सेना पठाइसकिएको बताए । उनले भने, ‘निर्वाचन सुरक्षाका निम्ति सेनाले सम्पूर्ण तयारी सकिसकेको छ । कार्यस्थलमा खटिने क्रम तीव्र छ ।’ भौगोलिक रूपमा विकट केही जिल्लामा पनि सेना चाँडै पुग्ने कडायतको भनाइ छ ।

सशस्त्र प्रहरी बलले पनि निर्वाचन सुरक्षाको काम सुरु गरिसकेको जनाएको छ । प्रवक्ता दिवाकर केसीका अनुसार पहिलो चरणको चुनाव हुने ३४ जिल्लामा ३० हजार सशस्त्र प्रहरी खटाइएका छन् । तीमध्ये २५ सयजति राजधानी उपत्यकाका तीन जिल्लामा खटिएका छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्