Logo

दाहाल र देउवा तपाईंहरु त अभियुक्त !



काठमाडौं २० बैशाख ।
अधिकारवादी नेता कृष्ण पहाडीले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन अपिल गरेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई अलग अलग पत्र लेख्दै पहाडीले महाअभियोग फिर्ता लिएर अनर्थको अध्याय अन्त्य गर्न आग्रह गरे । ‘एउटा साधारण नेता आफ्नो गल्ती स्वीकार गर्न हिच्किचाउँछन्,’ पत्रमा लेखिएको छ, ‘एउटा राजनता आफ्नो गल्ती स्वीकार गर्छन् । यो भन्दा माथि एउटा महान नेता आफ्नो गल्ती स्वीकार गर्नुका साथ साथै क्षमायाचना पनि गर्छन् ।’

पहाडीले महाअभियोग प्रस्तावमा प्रयोग भएको ‘खराव आचरण’ र ‘कार्यक्षमताको अभाव भएको’ भन्ने शब्द अशोभनीय र आपत्तिजनक रहेको उल्लेख गरे । प्रधानन्यायाधीश कार्कीले विगतमा गरेका निर्णयहरुभन्दा निकट भविष्यमा कुनै एक विषयमा उहाँबाट यस्तो निर्णय आउन सक्छ भन्ने आशंकाले महाअभियोग दर्ता भएको पत्रमा उल्लेख छ ।

महाअभियोगमा कतिपय सांसदहरुले हस्ताक्षर नगरेको प्रष्टोक्ति आइसकेकाले लोकतन्त्रमा ‘कीर्तेतन्त्र’ स्वीकार्य नहुने पहाडीले बताएका छन् । उनले ती सांसदहरुलाई उपस्थित गराएर हस्ताक्षर प्रमाणिकरण गर्न चुनौती दिएका छन् ।

पहाडीले लेखेका छन्, ‘न्यायमूर्ति सुशीला कार्कीलाई महाअभियोग लगाई अभियुक्त बनाउन खोज्दा जनस्तरमा यहाँहरु (दाहाल र देउवा) स्वयं अभियुक्त त बनिरहनु भएको छैन ? शीघ्र पुनरावलोकन गर्नु जरुरी छ ।’

यसैबीच मानव अधिकार तथा शान्ति समाजले विज्ञप्ती जारी गर्दै महाअभियोग प्रस्ताव १५ दिनभित्रै टुंगोमा पुर्‍याउने व्यवस्था गर्न माग गरेको छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्