Logo

कहाँ कुन दलबीच तालमेल ?



काठमाडौं २० बैशाख । काठमाडौं : तीन प्रदेशका २ सय ८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखिएको छ । विभिन्न संशय चिर्दै झन्डै १४ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना निर्वाचित हुँदैछन् । ४ वटा प्रदेशमा भने जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ ।
स्थानीय निकाय २०५९ सालबाट कर्मचारीको हातमा गएको थियो । नयाँ संविधानले स्थानीय तहलाई संवैधानिक मान्यता दिई अधिकार सम्पन्न बनाएपछि पहिलोपटक हुन लागेको निर्वाचन आमचासोको विषय बनेको छ ।राजनीतिक अन्योलका कारण चुनाव हुने कि नहुने भन्ने संशयबीच उत्साहजनक उम्मेदवारी दर्ता भएको भन्दै निर्वाचन आयोगले मतदान गराउन आतुर रहेको प्रतिक्रिया दिएको छ । विभिन्न स्थानमा बाजागाजा, झाँकी र जुलुससहित दलहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्रले विभिन्न जिल्लामा तालमेल गरी उम्मेदवारी दिएका छन् भने काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।संविधान संशोधन विधेयक पारित नभई निर्वाचनमा भाग नलिने अडान लिएको संघीय समाजवादी फोरमले काठमाडौं महानगरपालिकाको प्रमुखलगायत अन्य स्थानमा पनि उम्मेदवारी दिएको छ ।मधेसकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले भने पहिलो चरणका कुनै पनि स्थानमा उम्मेदवारी दिएको छैन ।
बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिए पनि केही स्थानमा राति अबेरसम्म मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । ठूला दलले ४ बजेपछि मात्र उम्मेदवारको टुंगो लगाएर एकैपटक उम्मेदवारी दर्ताका लागि पुगेकाले समय लागेको आयोगको भनाइ छ ।
निर्वाचन आयोगका अनुसार तीनवटा प्रदेशका ४ वटा महानगरपालिका, १ उपमहानगर र ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १ सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएको छ ।
महानगरका १ सय २३, उपमहानगरका १९, नगरपालिकाका १ हजार ९१ र गाउँपालिकाका १ हजार ३ सय ६५ गरी २ हजार ५ सय ९८ वडाध्यक्ष र १० हजार ३ सय ९२ वडा सदस्य पदका लागि मनोनयन भएको छ । तीमध्ये २ हजार ५ सय ९८ वडा सदस्यमा महिला मात्र निर्वाचित हुँदैछन् । २ हजार ५ सय ९८ दलित महिलाका लागि मात्र उम्मेदवारी दिने व्यवस्था गरिएको छ ।
४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका तीनवटै प्रदेशमा निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकिएका छन् ।
यसपटकको निर्वाचनमा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने कानुनी प्रावधान छ । अधिकांश दलले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका छन् ।

Yamaha
काठमाडौंमा एमाले र राप्रपाले तालमेल गर्दा एमालेका विद्यासुन्दर शाक्य मेयर र राप्रपाका राजाराम श्रेष्ठले उपमेयरमा उम्मेदवारी दिएका छन् ।
सुुरुमा एक्लाएक्लै उम्मेदवारी दिने तयारीमा रहेका यी दुई दलका शीर्ष नेताबीच एमाले संसदीय दलको कार्यालयमा भएको वार्तामा चुनावी तालमेलको सहमति भएको थियो । एमाले र राप्रपाबीच ललितपुर महानगरपालिकामा पनि चुनावी तालमेलको कुरा भएको छ । तर दुवै दलले उम्मेदवारी दिइसकेकाले उम्मेदवारी फिर्ता लिने बेलासम्म कुरा मिल्ने जानकारी एमाले सचिव योगेश भट्टराईले दिनुभयो ।पार्टीको चुनाव चिह्न नपाएपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग तालमेल गर्दै फोरमको चुनाव चिह्न मसाल लिएर उम्मेदवारी दर्ता गराएको छ ।चुनावी थ्रेटका रूपमा लिइएका मधेसकेन्द्रित दल र नेत्रविक्रम चन्दका कार्यकर्ताले कुनै पनि स्थानमा उम्मेदवारी दर्तामा अवरोध नगरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारलाई मनोनयन दस्तुरमा ५० प्रतिशत छूटको व्यवस्था मिलाएको थियो । संसद्मा रहेका दलबाट उम्मेदवार बनेकाले मतपत्रमा दलगत चुनाव चिह्न पाउनेछन् भने अन्य दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा चुनाव चिह्न पाउनेछन् ।
सत्ताबाट बाहिरिएको भोलिपल्टै राप्रपा र एमालेबीच काठमाडौं महानगरपालिकालगायत देशका केही स्थानमा तालमेल भएको छ । स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने पार्टी स्थायी समितिको निर्णयअनुसार केही जिल्लामा तालमेल भएको जानकारी एमाले प्रचार विभाग प्रमुख भट्टराईले दिनुभयो ।
कांग्रेसका कार्यालय सचिव प्रदीप पराजुलीले दोलखा, मकवानपुरलगायत केही जिल्लाका केही स्थानमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गरी उम्मेदवारी दिइएको जानकारी दिनुभयो ।

‘शान्तिपूर्ण र उत्साहजनक’
निर्वाचन आयोगले ३ वटै प्रदेशमा उम्मेदवारी मनोनयनपत्र दर्ताकार्य शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएकाले आयोग उत्साही भएको बताउनुभयो । ‘निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको छ’, यादवले अन्नपूर्णसँग भन्नुभयो, ‘यसैगरी मतदानकार्य गराउन आयोग आतुर छ ।’
यादवले काठमाडौं र ललितपुरको उम्मेदवारी दर्ताको स्थलगत अवलोकन पनि गर्नुभएको थियो ।
कहाँ कुन दलबीच तालमेल
काठमाडौं महानगरपालिका : एमाले र राप्रपा, संघीय समाजवादी र नयाँ शक्ति
मध्यपुर भक्तपुर : एमाले र नेमकिपा
लमजुङ : एमाले र माओवादी केन्द्र
तनहुँ : एमाले र माओवादी केन्द्र
बागलुङ : एमाले र राष्ट्रिय जनमोर्चा
सिन्धुपाल्चोक : एमाले र राप्रपा
दोलखा : कांग्रेस र माओवादी केन्द्र
मकवानपुर : कांग्रेस र माओवादी केन्द्र
म्याग्दी : कांग्रेस र राप्रपा
पहिलो चरण निर्वाचन
जिल्ला ३४
महानगर ४, उपमहानगर १, नगरपालिका ९२,
गाउँपालिका १८६
जम्मा तह २८३, वडा २५९८
जम्मा निर्वाचित हुने १३,५५६
मतदाता ४९,५६,९२५
मतदान केन्द्र ६,६४२



प्रतिक्रिया दिनुहोस्