Logo

निर्वाचनमा सुरक्षा मजबुत



चितवन, २० वैशाख । जिल्लामा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा समितिले तयार पारेको एकीकृत सुरक्षा योजनालाई पुनरावलोकन गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

यसअन्तर्गत जिल्लामा रहेका सातवटै तहको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

जिल्लामा रहेका एकसय ६१ मतदानस्थलको सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको छ भने मंगलबारदेखि म्यादी प्रहरीको समेत परिचालन गरिएको छ । सुरक्षा समितिले जिल्लामा रहेका मतदानस्थलमध्ये ४९ वटा अति संवेदनशील, ५९ संवेदनशील र ५३ सामान्य गरी वर्गीकरण गरेको छ ।

वर्गीकरणका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको थापाले बताउनुभयो । थापाका अनुसार जिल्लामा निर्वाचनको समयमा तीनहजार दुईसय १५ जना नेपाल प्रहरी, एक हजार दुई सय ५५ म्यादी प्रहरी, चारसय २० सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुनेछन् । हरेक तहमा तीनवटै सुरक्षा निकायको एक–एक टुकडी राखिएको छ । सेनाले निर्वाचनको समयमा बाह्य सुरक्षा दिनेछ भने सशस्त्र दोस्रो घेरामा रहने व्यवस्था गरिएको छ ।

यस्तै, नेपाल प्रहरी, म्यादी प्रहरी पहिलो घेरामा हुनेछन् भने राष्ट्रिय अनुसन्धानका गुप्तचरले हरेक स्थानबाट सूचना दिनेछन् । यसबाहेक प्रत्येक तहमा सशस्त्र प्रहरीको दुई–दुईवटा मोबाइल स्कर्टिङ टोली राखिनेछ । निर्वाचनको समयमा हुन सक्ने खतरालाई मध्यनजर गर्दै सुरक्षा समितिले निर्वाचनको समयमा दङ्गाफसादलाई नियन्त्रणमा लिनका लागि मतदानस्थलमा नेपाल प्रहरीको टोली तीन, सशस्त्र प्रहरी पाँच र नेपाली सेना १० मिनेटमा पुग्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

यसैक्रममा जिल्लामा रहेका सातसय १४ जना नेपाल प्रहरीलाई निर्वाचनसम्बन्धी अनुशिक्षणसमेत गराई सकिएको छ । जिल्लामा थप मद्दतका लागि आएका प्रहरीमध्ये नौसय १४ जना प्रहरी रिजर्भ फोर्सका लागि राखिने थापाले बताउनुभयो ।

चारजना प्रहरी नायब उपरीक्षकको कमान्डमा रहने सो टोलीलाई जिल्लाको संवेदनशील र अन्य क्षेत्रमा राखिने उहाँले बताउनुभयो । यस्तै, समितिले दङ्गाग्रस्त क्षेत्रको समेत पहिचान गरी सो क्षेत्रको अनुगमनसमेत गरेको उहाँले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्