Logo

कस्ता उम्मेदवार चुनाव जित्दैछन्



दीपेश केसी  : स्थानीय निकायको चुनावमा उम्मेदवारहरू गाउँ टोलमा प्रचारमा सक्रिय भइरहेका छन् । उनीहरू जितका लागि आतुर छन् । टिकट पाउने भाग्यशालीहरू आन्तरिक राजनीतिक माहोल तयार गर्दै जनताको घर दैलोमा पुगेका छन् । तर, चुनाव जित्न पार्टीको टिकट र व्यक्तिगत प्रभावले मात्र पुग्दैन । यसका लागि उम्मेदवारको कार्यक्षमता र व्यक्तित्वसँगै सहयोगी हातहरूको भूमिका महत्वपूर्ण हुन्छन् । चुनाव जित्न केही यस्ता क्षमता हुनुपर्छ जसले उम्मेदवारलाई सफल बनाउन सक्छ ।

स्थानीय निकायको निर्वाचनमा गाउँ टोललाई गहिरोसँग बुझेर र भोगेर विकासको काममा खटिदै आएको उम्मेदवार प्रभावशाली हुने देखिएको छ । उम्मेदवारमा सही मिसन, भिजन र एक्सन हुनुपर्छ ।

उम्मेदवार कामकाजी भइकन स्वच्छ आचरणको हुनुका साथै नैतिक पतन हुने गतिविधिमा संलग्न नभएको भएमा ऊप्रति मतदाता सकारात्मक बन्छन् । अनियमिततामा लागेको भएमा आफ्नै निकटस्थले समेत मतदान गर्नुअघि मत घुमाउन सक्छन् ।

युवा भइकन परिपक्व आचरणको उम्मेदवार बलियो सावित हुन्छ । त्यस्ता उम्मेदवारको जीत्ने सम्भावना बलियो रहन्छ ।

विगतमा कुनैपनि पदमा बसेको भए उक्त पदमा सफलताका साथ रहेर जिम्मेवारी बहन गरेको उम्मेदवारप्रति मतदाताको विश्वास रहन्छ । यदि कुनैपनि पदको अनुभव छैन भने उसको भावी योजना र स्वभाव राम्रो भएमा परीक्षण नभइसकेकाले उसलाई एकपटक हेरिहालौं कि भनेर मत दिन सक्छन् । त्यस्ता उम्मेदवारको जित्ने सम्भावना रहन्छ ।

बहुदलीय लोकतान्त्रिक व्यवस्थामा दलगत उम्मेदवार बलियो हुनु स्वभाविक हो । तर, मतदातासँग दलहरू छान्ने अवसरहरू छन् । त्यसबाहेक दलीय उम्मेदवार मन नपरे स्वतन्त्र उम्मेदवारहरू पनि छन् । स्वतन्त्र मध्ये कतिपय लहड, आवेग र रहरले उम्मेदवार बनेका छन् । कतिपय मन नपरेको उम्मेदवारलाई पराजित गर्ने उद्देश्यले वागी बनेका छन् । जित्नेभन्दा हराउने मनशाय भएकाहरू छन् । तर, कतिपय स्वतन्त्र उम्मेदवार गाउँ टोलमा निकै लोकप्रीय र निस्वार्थ विकासको काममा लागिपरेकाहरू छन् । त्यस्ता उम्मेदवारहरू उल्लेख्य संस्थामा जितेर आउने सम्भावनाहरू छन् ।

जातीय राजनीतिले देशमा जरो गाडिसकेको छ । यसकारण आफ्ना जातिलाई जिताउन जातिगत संघसंस्थाहरू पार्टीगत सोचभन्दा बाहिर जान सक्छन् । त्यतिबेला जुन जातिको जनसंख्या अधिक छ त्यस जातिका उम्मेदवारले जित्ने परिस्थिति बन्छ ।

नेपाली समाजमा अझै नातासम्बन्ध बलियो छ । उम्मेदवारको मतदातामध्ये नातासम्बन्ध भएकाको संख्या बढी भएमा जित्ने सम्भावना बढी हुन सक्छ ।
माथिको नेतासम्म पहुँचले पनि उम्मेदवारको प्रभावकारिता देखिन्छ । माथिको नेतासम्म सम्बन्ध भएकाले मतदाताले त्यस्ता उम्मेदवारहरूबाट आफ्नो क्षेत्र र त्यहाँको नागरिकको हितमा काम गर्न सक्ने आशा गरेर मतदान गर्न सक्छन् ।

कर्मचारी, प्रहरी र सेनासँग बलियो सम्बन्ध बनाएको उम्मेदवार पनि बलियो हुन सक्छ । त्यस्तो सम्बन्धका आधारमा उम्मेदवारले विकासका योजना देखि सुरक्षासम्बन्धि अप्ठ्यारो पर्दा भनसुन गरिदिन सक्ने आशा राख्दछन् । त्यस्ता उम्मेदवारहरूलाई मतदाताले पत्याएर जिताउन सक्छन् ।

बुद्धिजीवी र समाजसेवीहरूबाट उम्मेदवारलाई कतिको समर्थन छ भन्नेले पनि असर पार्दछ । समाजमा गन्यमान्यहरूको समर्थनबाट सकारात्मक प्रभाव परी उम्मेदवारको पल्ला भारी हुन सक्छ ।

मिडियामा उम्मेदवारको व्यक्तित्वको चर्चा कति छ र उसका बारेमा समाचारहरू सकारात्मक या नकारात्मक के कति प्रकाशित या प्रसारित भइरहेको छ त्यसले पनि मतदातालाई प्रभावित पार्न सक्छ । मिडियाको चर्चाले पनि मत बढ्ने या घट्ने हुनसक्छ ।

सामाजिक सञ्जाललाई बेवास्ता गर्न मिल्दैन । विशेषगरी फेसबुक र ट्वीटरमा उम्मेदवारबारे विषय बढी भन्दा बढी जानकारीमा आउने र क्रियाप्रतिक्रिया भएमा प्रभाव पर्न सक्छ । विशेषगरी युवा र पढेलेखेका मतदाताको सामाजिक सञ्जालमा पहुँच भएकाले मतदानको सोचमा समेत परिवर्तन ल्याउन सक्छ ।
राजनीतिमा भाषणकला निकै महत्वपूर्ण छ । उम्मेदवारको वाक्कलाले समेत मतदातालाई आकर्षण या विकर्षण गर्न सक्छ । भाषण राम्रो गर्न सक्ने उम्मेदवार पक्कै पनि बलियो सावित हुन्छ ।

शारीरिक रुपमा स्वस्थ उम्मेदवारमा सबैको ध्यान जान सक्छ । उम्मेदवारको शारीरिक व्यक्तित्व मात्र नभई बौद्धिक क्षमता उत्तिकै महत्वपूर्ण सावित हुन्छ ।
हानी हुन नसक्ने तर झुटो बोल्न सक्ने उम्मेदवारको बठ्याई काम लाग्न सक्छ । पच्ने सम्मको झुटले काम गर्न सक्छ तर अपाच्य झुट घातक सावित हुन्छ ।
उम्मेदवार नरिसाउने, जिज्ञासाहरूको सटिक जवाफ दिन सक्ने, सहनशील, विरोधीलाई समेत आश्वस्त पारेर आकर्षित गर्न सक्ने, मृदुभाषी, हँसमुख, सबैलाई समेट्न सक्ने, अरूको कुरा धैर्यपूर्वक सुन्न सक्ने र आफ्नो कुराले अरूलाई विश्वस्त बनाउन सक्ने भएमा मत तान्न सक्छ । अनावश्यक बहसमा अल्झने उम्मेदवार फिक्का सावित हुन्छ ।

उम्मेदवारमा आफ्नो गाउँ टोलबारे गहिरो ज्ञान र मतदातासँग आफू परिचित हुनुका साथै उनीहरूसँग आफ्नो परिचय भएमा लाभ पुग्छ । मतदाताको नामै किटेर भन्न सक्ने उम्मेदवारप्रति मतदाताको सकारात्मक छाप पर्न सक्छ । हरेक मतदातासमक्ष प्रत्यक्ष पुगेर मतदानको अनुरोध सही तरिकाले गर्न सक्ने उम्मेदवारले मत जित्न सक्छ ।

धर्मगुरू देखि गाउँ टोल सुधारको नेतृत्व कर्ता, गुठीका पदाधिकारी देखि विभिन्न सामाजिक संघसंस्थाका नेतृत्वकर्ताको समर्थन लिन सक्ने उम्मेदवार जित्न सक्छ ।

पैसाको सही प्रयोग र समर्थकलाई सही तरिकाले परिचालन गर्न सक्ने उम्मेदवारको जित्ने सम्भावना रहन्छ । मनी र मसलको दुरुपयोग गरेमा प्रत्युत्पादक भई आफ्ना समर्थक समेत बिच्किन सक्छन् ।

उम्मेदवारको परिवारको अवस्थाले पनि मतदाताको मन परिवर्तन गर्न सक्छ । परिवारका सदस्य मिलनसार र सहयोगी भएमा मतदाताको मन आकर्षित हुन सक्छ ।

अन्तरपार्टी सञ्जालसँग समन्वय गर्न सक्ने र अन्य पार्टीको रणनीतिलाई गहिरोसँग बुझेर आफ्नो रणनीति तयार गर्न सक्ने उम्मेदवार बलियो सावित हुन सक्छ ।
केही गर्छु भनेर अगाडि बढेको र राजनीतिक एवं सामाजिक जीवनमा सुन्दर भविष्य बोकेको व्यक्तिप्रति जनविश्वास बढ्न गई जित्ने सम्भावना रहन्छ ।
अन्तमाः चिनियाँ आर्थिक क्रान्तिका सूत्रधार देङ स्याओ पिङको भनाई छ— बिरालो कालो होस् या सेता मूसा मार्नुपर्छ । यो चुनावका सिलसिलामा उत्तिकै महत्वपूर्ण हुन सक्छ । उम्मेदवार कस्तो भन्दा पनि जित्ने र गाउँ टोललाई द्रुत विकासतर्फ लान सक्ने सामथ्र्यको हुनुपर्छ । त्यस्ता उम्मेदवारको जितले मात्र स्थानीय निकायको काम कारबाही प्रभावकारी र फलदायी हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस्