Logo

यादवले भने,‘मधेसको माग र एजेण्डाबाट पछि हटेको छैन’



काठमाडौं, २० बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा घट्ने सम्भावित घटनालाई मध्यनजर गर्दै आफ्नो पार्टी चुनावमा सहभागि भएको बताए ।

बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी फोरम अध्यक्ष यादवले संशोधन पास गर्ने बेलामा प्रतिगामी शक्तिले चलखेल गरेको दाबी गरे । उनले भने– मोर्चाको औचित्य समाप्त भएको कसैले भन्छ भने उसकै औचित्य अब सकिएको बुझ्नुपर्छ । मोर्चा सकिए मधेस आन्दोलननै समाप्त हुन्छ । ‘संघीय गणतन्त्रको रक्षाका लागि हाम्रो पार्टीले चुनावमा भाग लिनेको हो’, यादवले भने, ‘ मधेसको माग र एजेण्डाबाट पछि हटेको छैन। मेरो विरुद्धमा भ्रम फैलाउने काम भइरहेको छ ।’

उनले केहि पहिलेमात्रै राजपाका नेताले आफूलाई भेटेर चुनावमा गएकोमा बधाई दिएको दाबी गर्दै तर केहि नेताको रबैयाले भने आफूलाई आश्चर्यचकित बनाएको टिप्पणी गरे । उनले राजपाले पनि चुनाव चाहेको भन्दै खाली दल दर्ता नभएको र चुनाव चिन्ह नपाएकाले मात्रै बार्गेनिङ गरिरहेको दाबी गरे ।

उनले अहिले आफ्नो पार्टीप्रति अफबाह फैलाउनुको कुनै तुक नरहेको भन्दै यादवले पार्टीले चुनावमा भाग लिएपनि चुनावअघि संशोधन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताए । यस्तै मधेस र मधेसी जनताको अधिकारको लागि कुनै सम्झौता नहुने पनि यादवले बताए ।

यादवले बैशाख ३१ गते हुने पहिलो चरणको चुनावको मतगणना र दोस्रो चरणको सँगै गनिुपर्ने पनि बताए । यस्तै यादवले पहाडमा प्रभावै नभएको राजपाले अहिले किन उम्मेदवारी दिनु आवश्यक नै नभएको भन्दै आफ्नो पार्टीको भने ७५ ओटै जिल्लामा संगठन भएकाले उम्मेद्वारी दर्ता गराएको बताए ।

उनले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग प्रस्तावलाई न्यापालिकामाथिको ठाडो हस्तक्षेप भएको बताए ।



प्रतिक्रिया दिनुहोस्