Logo

काठमाडौँमा पाँचगुणा बढी उम्मेदवार



काठमाडौँ, २० वैशाख । काठमाडाँै जिल्लाका १० वटा नगरपालिकामा पाँचगुणा बढी उम्मेदवारले उम्मेदवारी दिएका छन् । दशवटा नगरपालिकामा ५५० जना निर्वाचित हुनपर्नेमा दुई हजार ६२४ जनाले उम्मेदवारी दिएका छन् । ती नगरपालिकामा नगरप्रमुखका लागि १३५ जनाले तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सबैभन्दा बढी चन्द्रागिरि नगरपालिकामा नगरप्रमुखका लागि १८ जना र उपप्रमुखका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिनुभयो । सो नगरपालिकामा ७७ जना प्रतिनिधि निर्वाचित हुनुपर्नेमा कुल ३९८ जनाले उम्मदवारी दर्ता गराउनुभएको छ ।

सबैभन्दा कम दक्षिणकाली नगरपालिकामा नगरप्रमुखमा १० जना तथा उपप्रमुखमा छ जनाले उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृत प्रतीमा पोखरेलले जानकारी दिनुभयो । दक्षिणकालीमा १९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी तारकेश्वरमा नगरप्रमुखका लागि १४ जना र उपप्रमुखका लागि नौ जनासहित कुल ३०७ जनाले उम्मेदवारी दिएका छन् । नागार्जुन नगरपालिकामा नगरप्रमुखका लागि १६ जना र उपप्रमुखका लागि छ जनासहित २६६ जनाले उम्मेदवारी परेको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो ।

यस्तै शङ्खरापुरमा कुल ४७ जनप्रतिनिधि निर्वाचित हुनपर्नेमा २०९ जनाले उम्मेदवारी दिएका छन् । नगरप्रमुख र उपप्रमुखमा १०÷ १० जनाले उम्मेदवारी दिएका छन् । गोकर्णेश्वरमा ४७ जनप्रतिनिधि निर्वाचित हुनपर्नेमा २०७ जनाले उम्मेदवारी दिएका छन् । सो नगरपालिकामा नगरप्रमुखका लागि १२ जना र उपप्रमुखका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कागेश्वरीमा ५७ पदाधिकारीका लागि कागेश्वरीमा ३०७ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तैगरी टोखामा ५७ जनप्रतिनिधि चयन हुनुपर्नेमा २६२ जना, कीर्तिपुरमा ५२ निर्वाचित हुनुपर्नेमा २६८ जना तथा बूढानीलकण्ठमा ६७ जना जनप्रतिनिधि निर्वाचित हुनुपर्नेमा २९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्