Logo

तस्करीमा परेका ४४ महिला दुबई अध्यागमनद्वारा फिर्ता



काठमाडौं २१ बैशाख ।
मानव तस्करहरुले बिना भिसा संयुक्त अरब इमिरेट्स (युएई)को दुबई विमानस्थलमा पुर्‍याएका ४४ जना नेपाली महिलालाई फिर्ता पठाएको छ ।

मानव तस्करहरुले ती महिलालाई इराक, युएई, ओमन, कुवेत र सिरिया पठाउन तीन दिनअघि दुबई विमानस्थलभित्र ट्रान्जिटको रुपमा राखिएको थियो । लामो समयसम्म महिलाहरु विमानस्थलको ट्रान्जिटमा रहेको भेटिएपछि दुबई अध्यागमनले भिसा नभएको भन्दै दिल्ली पठाएको थियो । दिल्लीले नेपाल पठाइदिएको हो । दिल्लीबाट दुबईसम्म लैजाने एयर इन्डियाबाटै फिर्ता पठाइएको हो ।
‘मानव तस्करहरुले दिल्लीबाट अनएराइभल भिसा पाउने भन्दै केन्याको टिकट देखाई पठाइएको थियो । दुबई पुगेपछि केन्याको टिकट रद्द गरी राखियो,’ दलालका गतिविधीलाई नजिकबाट नियालेका श्रोतले कान्तिपुरलाई भने, ‘तर कसैको भिसा समयमा ननिस्किएकोले महिलाहरु थुप्रिंदै गए । दुबई अध्यागमनका अधिकारीहरुले सोधखोज गर्दा कसैको भिसा थिएन । कसैको भिसा भएपनि टिकट थिएन ।’

सरकारले घरेलु कामदारको रुपमा पठाउन रोके पनि भारत हुँदै खाडी देशमा लैजान मानवतस्करहरु सक्रिय छन् । ती महिलाकाे दिल्लीस्थित शिखा ट्राभल्सबाट टिकट जारी गरिएको थियो । दुबईबाट मंगलबार १२ जना र बुधबार ३२ जना फिर्ता आएको अध्यागमन विभागका महानिर्देशक गंगाराम गिलालले बताए ।

फिर्ता पठाइएका महिलालाई सुरक्षीत आश्रयको लागि माइती नेपालमा पठाइएको छ । विभागले उनीहरुसँग छानविन गर्न थालेको छ । ‘हामी सबै एउटै दलालबाट गएको होइन । सबै विमानस्थलमै भेटिएको हो । हामी घरको काम गर्न लगिएको हो,’ एक महिलाले भनिन्, ‘दुई दिनसम्म दुबईमा विमास्थलमा बस्नुपर्‍यो ।’

अध्यागमनका अनुसार फिर्ता हुने महिलाहरु सिन्धुपाल्चोक, बर्दिया, रुपेन्द्रेही, मकवानपुर, चितवन, पाल्पा, सुनसरी लगायत जिल्लाका छन् । फिर्ता हुनेहरुमा कल्पना परियार दमाई, दिपा भुजेल, रामजानी थारु, सर्मिला राई, दीपा याख्खा, प्रतिमा भिजार, उमा पौडेल, साबित्र लहार, सीता तिवारी, रीताकुमारी वाइवा, उमा कामाद, कुमारी स्याङतान रहेका छन् ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्