Logo

आरोप–प्रत्यारोपमा मधेसी दल



काठमाडौं २१ बैशाख ।
मधेसी दलहरूबीच पछिल्ला दिनमा आरोप–प्रत्यारोप बढेको छ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनअघि निर्वाचनमा नजाने पूर्वप्रतिबद्धता तोडेको भनी राष्ट्रिय जनता पार्टीले आरोप लगाएको २४ घण्टा नबित्दै खण्डन गरेका छन् । पार्टी कार्यालय तीनकुनेमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयता, गणतन्त्रलगायत परिवर्तनका उपलब्धि जोगाउन आफ्नो पार्टीले पहिलो चरणको चुनावमा भाग लिनुपरेको बताए ।

मंगलबार राजपाको बैठकले फोरममाथि आन्दोलन बिसाएको आरोप लगाएको थियो । ‘पूर्वराजा ज्ञानेन्द्रको नातिको व्रतबन्धमा केही दिनअघि चिप्लो लुगा लगाएर सोल्टी होटल जानेले हामीलाई लोकतन्त्र र संघीयताको पाठ सिकाउने ?’ राजपा नेताहरूप्रति इंगित गर्दै यादवले भने, ‘हामीलाई चुनावमा गएको भनी आरोप लगाउने साथीहरू (राजपा) नै निर्वाचन आयोगमा चुनाव चिह्न चाहियो भनेर गएको पनि देखियो ।’ राजपा नेता राजेन्द्र महतो ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको व्रतबन्ध भोजमा सहभागी भएको प्रसंग जोडदै यादवले यस्तो आरोप लगाए ।

महतोले मंगलबारको राजपा बैठकमा बोल्दै मधेस आन्दोलनलाई धोका दिँदै यादव चुनावमा गएको आरोप लगाएका थिए । राजपाका अरू नेताले महतोको भनाइमा समर्थन जनाउँदै यादवकै कारण अब मधेसी मोर्चाको औचित्य समाप्त भएको घोषणा गरेका थिए ।

संविधान संशोधन गर्ने प्रतिबद्धता राज्यले दिइसकेको र त्यसअनुसार संशोधन विधेयक अगाडि बढेको हुनाले मधेसी मोर्चासँग पूर्वसहमतिअनुसार चुनावमा गएको यादवको जिकिर थियो । वैशाख ९ गते बालुवाटार वार्तामा सत्ता घटकले संविधान संशोधन विधेयक परिमार्जनसहित अघि बढाउने प्रतिबद्धता गरेपछि राजपा र फोरम दुवैले दुई चरणको चुनावमा जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मोर्चा र गठबन्धनको औचित्य सकियो भन्ने राजपा निष्कर्षबारे पत्रकारको जिज्ञासामा यादवले भने, ‘त्यसो भन्ने साथीहरू भर्खरै हाम्रै अफिसमा आएर दोस्रो चरणको चुनावमा सँगै लड्नुपर्छ भनेका छन् ।’ फोरम कार्यालयमा बुधबार राजपाका पशुपतिदयाल मिश्रलगायत नेता पुगेका थिए । संविधान संशोधन हुन लाग्दा पछिल्लो साता नाटकीय ढंगले चलखेल भएको र राप्रपाका सांसद गायब पार्ने खेलले परिवर्तन उल्ट्याउने शक्तिहरू हाबी भएको पनि यादवको टिप्पणी थियो ।

अर्को प्रसंगमा यादवले आईजीपी नियुक्तिको बहानामा प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग गलत भन्दै तुरुन्त फिर्ता लिन पुन: आग्रह गरे । उनले महाअभियोग फिर्ता गर्न आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटिसकेको पत्रकार सम्मेलनमा उल्लेख गरे । सम्मेलनमा फोरम वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउतलगायत नेता थिए । यादवले जारी गरेको वक्तव्यमा संशोधन प्रस्ताव पारित गराउने सरकारी प्रतिबद्धतामा विश्वास गर्दै घोषित आन्दोलनलाई तत्कालका लागि मोर्चा र गठबन्धनले स्थगन गरेको उल्लेख छ । ‘संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन हुन नदिने, दुई चरणको निर्वाचनलाई एकै चरणमा सम्पन्न गर्ने हाम्रो अडानलाई मोर्चामा संलग्न केही घटक दलहरूले घुमाउरो पाराले अस्वीकार गर्दै सरकारी प्रस्तावलाई नै स्विकार्ने अवस्था निर्माण गरियो,’ राजपालाई लक्षित गर्दै यादवको वक्तव्यमा भनिएको छ, ‘संघीय समाजवादी फोरम मधेसी मोर्चाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहनेछ भन्नेमा ढृढ छ । एकलौटी रूपमा सञ्चारमाध्यमहरूमार्फत मोर्चाको औचित्यमाथि प्रश्न उठाउने केही घटक दलहरूको छद्म युद्ध र मोर्चाको औपचारिक बैठक र निर्णयबिना वर्तमान सरकारलाई समर्थन गर्नेजस्ता कामप्रति हाम्रो पार्टी घोर दु:ख व्यक्त गर्दछ ।’
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्