Logo

प्रधानमन्त्रीको सन्देश बोकेर किन जादैछन् परराष्ट्रमन्त्री फेरि दिल्ली ?



काठमाडौं २१ बैशाख । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत शुक्रबार भारत जाने भएका छन् । महत नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनका लागि त्यता जान लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणमा वैशाख ४ र ५ गते उनी भारत गएका थिए । परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजले शुक्रबार उक्त सम्मेलनको संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन शनिबारसम्म चल्नेछ । ‘उक्त सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायतका विषयमा परराष्ट्रसचिव शंकरदास वैरागीसहित नेपाल र भारतका विज्ञहरूको प्रस्तुति रहनेछ,’ परराष्ट्रमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक एकराज पाठकले भने ।

महत सिंगापुरमा
परराष्ट्रमन्त्री महत थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिंगापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार सिंगापुर पुगेका छन् । नेपाली पर्यटन, व्यापार तथा लगानीसम्बन्धी बिहीबार हुने सम्मेलनमा उनी सहभागी हुने कार्यक्रम छ ।

महतले सिंगापुरमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसक्रममा उनले सिंगापुरका विदेश मामिला एवं मानव संसाधनसम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री डा. महत शुक्रबार मे ५ का दिन सिंगापुरबाटै भारतका लागि प्रस्थान गर्नेछन् । मन्त्री डा. महत आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्