Logo

यस्तो छ आजको निर्वाचन कार्यतालिका



काठमाडौं २१ बैशाख ।
पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुखमा एक हजार आठ सय ५६ ले उम्मेदवारी दिएका छन् । त्यस्तै, उपप्रमुखमा करिब एक हजार तीन सय ७५ उम्मेदवार बनेका छन् ।

नगरपालिका र गाउँपालिकाका वडाध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको प्रारम्भिक तथ्यांक आयोगसँग छ । त्यसैगरी, दुई खुला सदस्यका लागि १६ हजार ८३ ले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यका लागि सात हजार नौ सय ९४ ले र दलित महिला कोटामा ६ हजार ६ सय ४५ ले उम्मेदवारी दिएका छन् ।

स्थानीय तहबाट आएका यी तथ्यांकमा उम्मेदवारको केही संख्या थप हुन सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । उनका अनुसार केही स्थानीय तहबाट अपूरो तथ्यांक आएकाले सबै पदका उम्मेदवारको विवरण तयार हुन सकेको छैन । आयोगमा आएको प्रारम्भिक तथ्यांकको अन्तिम नामावली र संख्या बिहीबार साँझसम्म तयार हुने प्रवक्ता शर्माले बताए ।

२ सय ८३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसमेत गरी १३ हजार पाँच सय ५६ जना जनप्रतिनिधि निर्वाचित हुँदै छन् । चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकाका लागि जनप्रतिनिधि निर्वाचित हुन लागेका हुन् ।

४ महानगरमा १ सय २३, एक उपमहानगरमा १९, ९२ नगरपालिकामा १ हजार ९१ र १ सय ८६ गाउँपालिकामा १ हजार ३ सय ६५ गरी २ हजार ५ सय ९८ वडाबाट वडाध्यक्ष निर्वाचित हुनेछन् । त्यस्तै, सबै तहका २ हजार ५ सय ९८ वडाका लागि चारका दरले १० हजार ३ सय ९२ वडा सदस्य निर्वाचित हुनेछन् । ती सदस्यमध्ये २ हजार ५ सय ९८ महिला र त्यति नै दलित महिला गरी ५ हजार १ सय ९६ वडा सदस्यमा महिला जनप्रतिनिधि निर्वाचित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्