Logo

खानेपानी पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्रीको निर्देशन



भूकम्पले क्षति गरेका खानेपानी आयोजन निर्माणमा बजेट अभाव
काठमाडौं, २१ बैशाख ।खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

उनले भूकम्प प्रभावित जिल्लाहरुमा रहेका आयोजनाको काम र पुनर्निर्माणको कामलाई गति दिएर भूकम्प पीडितलाई राहत दिनुपर्ने बताए । शाहीले यसका लागि आफूले पनि सकारात्मक पहल गर्ने भन्दै यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरिने बताए । खानेपानीको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको र यसका लागि सबै पक्षले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

महाभूकम्पकाकारण क्षति भएका खानेपानी आयोजनाको पुनर्निर्माण गर्न बजेट अभाव भएको छ ।बजेट अभावका कारण खानेपानी आयोजना पुनर्निर्माणको कामले गति लिन सकेको छैन ।पुनर्निर्माण प्राधिकरण समयमा आवश्यकता अनुसार बजेट नदिंदा यस्तो समस्या परेको हो ।

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीलाईखानेपानी तथा ढल निकास विभागलेभूकम्पका कारण क्षति भएका आयोजनाहरु बजेट अभावका कारण आयोजामा निर्माण गर्न समस्या परेको बताएको हो ।

विभागका अनुसार भूकम्पका कारण करिब ५१ सय खानेपानी आयोजामा पूर्ण तथा आंशिकरुपमा क्षतिग्रस्त अवस्थामा छन् । ति मध्ये खानेपानी तथा ढल निकास विभागले १३ सय आयोजना मर्मतको गर्ने जिम्मा लिएको छ ।

१३ सय आयोजना मध्ये पनि २९३ क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणको काम सम्पन्न भइ संचालनमा आइसकेका छन् भने ९६० वटा आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । क्षतिग्रस्त ५१ सय आयोजमा निर्माणका लागि करिब १८ अर्ब रुपैंयाँ लाग्ने विभागको अनुमान छ ।

५ वर्ष भित्र ५१ सय आयोजना निर्माण गर्ने उदेश्यका साथ पुनर्निर्माण प्राधिकरणलाई १८ अर्ब रुपैंयाँ व्यवस्थापन गर्न खानेपानी विभागले अनुरोध गरेपनि प्राधिकरणले बजेट निकासा नगर्दा योजना पुनर्निर्माणमा अन्यौलता छाएको हो ।

मन्त्री शाहीलाई विभागले पुनर्निर्माणको चरणमा रहेका आयोजनाहरु २ वर्ष भित्र सम्पन्न गर्नका लागि २ अर्ब रुपैंयाँ आवश्यक पर्ने भएपनि पुनर्निर्माण प्राधिकरणले गत वर्ष ४८ करोड निकासा गरेको र यस वर्ष ६५ करोड निकासा गर्ने बचन दिएपनि निकासा भइनसकेको जानकारी गराएको छ ।

प्राधिकरणले वर्षमा एक तिहाई मात्र बजेट बिनियोजन गर्दा आयोजना निर्माणको काम लक्ष्य अनुरुप अघि बढाउन नसकिएको विभागले बताएको छ । आवश्यक पर्ने बजेट निकासा भए ५१ सय आयोजनाको पुनर्निर्माणको काम गर्न पनि आफूहरु तयार रहेको विभागले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्