Logo

जनकपुरमा आज जानकी नवमीको रौनक



महेन्द्रनगर (धनुषा), २१ वैशाख । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आज जगत्जननी माता जानकीको जन्मोत्सव ‘जानकी नवमी’ धुमधामका साथ मनाइँदैछ । यस वर्ष जनकपुरलाई विकासको दिशामा अघि बढाउन एवम् मिथिलाको धार्मिक सम्पदा, कला, संस्कृति र वेशभूषालाई उजागर गर्न जानकी जन्म महोत्सव धुमधामसँग आयोजना गरिएको छ ।

जानकी नवमीको अवसरमा जानकी मन्दिरलाई नव दुलही झैँ सिँगारिएको छ भने यस अवसरमा ठूलो मेलाको आयोजना गरिएको छ । साथै ‘जानकी नवमी’का अवसरमा आज मिथिलाञ्चलमा दीपावली मनाइने कार्यक्रमसमेत तय गरिएको छ ।

त्यसैगरी, जानकी नवमीको पूर्वसन्ध्यामा बुधबार जानकी मन्दिरमा जानकी विशेष आरतीसमेत गरिएको छ । साँझ ६ बजेदेखि जानकी मन्दिरमा जानकी विशेष आरती गरिएको सेभ हिस्टोरिकल प्लेस जनकपुरका संयोजक रामआशिष यादवले जानकारी दिनुभएको छ । यादवका अनुसार आज पनि अत्यन्तै भव्यता र धुमधामका साथ विशेष सन्ध्या आरती गरिने जनाइएको छ । यस्तो विशेष आरती गत दुई वर्षदेखि जनकपुरको गङ्गा सागरमा ‘गङ्गा आरती’ सेभ हिस्टोरिकल प्लेसको अगुवाइमा गरिँदै आएको छ ।

साथै, जानकी नवमीको शुभ अवसरमा आज बिहान जानकी मन्दिरको प्राङ्गणमा रामजानकी झाँकी ऐतिहासिक नदी दूधमतीका लागि प्रस्थान गरेको छ । दूधमती नदीमा जानकी मन्दिरको मूर्तिलाई स्नान गराउने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

स्नानपश्चात् जानकी मन्दिरको मूर्तिलाई दूधमती नदीमै दुग्धाभिषेक कार्यक्रम गरिनेसमेत जनाइएको छ । मूर्ति दुग्धाभिषेक गरिएपछि बाजागाजाका साथ पुनः मूर्तिलाई जानकी मन्दिरमा विधिवत्रुपमा राखिने भएको छ ।

सो अवसरमा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुर आएका छन् । साँझ ४ बजे जानकी मन्दिरको प्राङ्गणबाट जनकपुर नगरमा शोभायात्रा निकालिनेछ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा निकालिने सो शोभायात्रामा जनकपुरका विभिन्न मन्दिरका महन्थ, साधुसन्त, जनकपुरमा रहेका विभिन्न कार्यालयका प्रमुख तथा स्थानीयवासीको सहभागिता रहनेछ ।

आजै राति जानकी मन्दिरमा सङ्गीतमय आरती गरिने कार्यक्रम पनि राखिएको छ । सङ्गीतमय आरतीको संयोजन सेभ हिस्टोरिकल जनकपुरले गरेको छ । जनकपुरमा जानकी नवमी, रामनवमी, झुला, विवाह पञ्चमी, राजदेवी पूजा तथा परिक्रमा विशेष उत्सवका साथ मनाउने गरिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्