Logo

प्रचण्ड–ओलीवीच भेटवार्ता सम्पन्न, संशोधन प्रस्ताव अघि बढाउन दिने ओलीको संकेत



काठमाडौं, २१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच करिब एक घण्टा लामो भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित् सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई नेताहरुवीच संविधान संशोधन प्रस्ताव, बजेट, स्थानीय तहको निर्वाचन र प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध ल्याएको महाअभियोगको प्रस्तावको बारेमा गहन छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले संशोधन प्रस्तावमा सहयोग गर्नको लागि एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। तर, एमाले अध्यक्ष ओलीले जवाफमा उक्त परिमार्जनसहितको संशोधन प्रस्ताव पारित हुने आधार के ? भनेर प्रश्न तेर्साएका थिए । त्यतिमात्रै नभएर ओलीले संविधान संशोधन प्रस्तावलाई संसद्मा निर्णयार्थ पेश गर्न सरकारलाई चुनौती समेत दिएको उच्च स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालसँगको एक घण्टा लामो भेट सकिएपछि बाहिरिने क्रमर्मा ै अध्यक्ष ओलीले संविधान संशोधनको विषय भोटिङमा लगेर टुँगोमा पुर्याउनको लागि आफूले प्रधानमन्त्रीलाई चूनौति दिएको बताए । उनले भने,‘संशोधन प्रस्तावलाई भोटिङमा ल्याउन मानिरहनु भएको छैन, आँट पुगेको छैन कि केहो कुन्नी? परपर सार्नुभयो, अस्ती १७ गतेदेखि अब भोटिङमा ल्याए हुने हो, प्रस्ताव भोटिङमा आएपछि के भो र सामना गर्नैपर्ला।’

प्रमुख प्रतिपक्षी दल एमाले लगायतका विपक्षी दलहरुले सरकारले चुनावको मुखमा संशोधन प्रस्ताव ल्याएर गम्भिर भुल गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुले अहिले प्रस्ताव आउनु अनुचित, र अव्यवहहारिक हुने भन्दै उक्त प्रस्तावलाई फिर्ता लिनको लागि सरकारलाई आग्रह गर्दै आएका छन् ।

त्यस्तै हालै सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले संसदमा प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध दर्ता गराएको महाअभियोग प्रस्ताव पनि यथाशिघ्र फिर्ता लिनुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको माँग रहेको छ ।

स्रोतका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनको लागि आफ्नो पार्टीले संसदमा कुनै पनि किसिमको अवरोध तथा बाधा सिर्जना नगर्ने समेत प्रधानमन्त्री दाहाललाई आश्वसान दिएका थिए ।

त्यस्तै दुई नेताहरुवीच बजेट दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै ल्याउनेबारे पनि सहमति भएको छ ।

प्रधानमन्त्री दाहालको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘बजेटको मिति सार्नको लागि सरकारलाई कुनै आपत्ति छैन, तर यी विषयमा हामीवीच सहमति हुन जरुरी छ, एमालेले पनि राष्ट्रिय आवश्यकत्तालाई बुझिदिनुपर्यो, मुलुकको निकासको लागि सहमतिको साथ अघि बढ्न एमाले पनि गम्भिर भएर प्रस्तुत हुनुपर्छ ।’
भेटमा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङको समेत उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता हुँदै । तस्बिर : रोशन सापकोटा, रासस



प्रतिक्रिया दिनुहोस्