Logo

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण



नवलपरासी, २१ वैशाख । स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ ।

निर्वाचन हुने चार वटा नगरपालिकामा र चार वटा गाउँपालिकामा खटिने २२८ जना मतदान अधिकृत र २२८ जना सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको हो ।

आठ वटै स्थानीय तहमा निर्वाचन गराउन खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन लक्षित प्रशिक्षण दिइएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।

पहिलो चरणमा नगरपालिकातर्फ गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दुमा निर्वाचन हुने छन् भने गाउँपालिकातर्फ बुलिङटार, बुङदीकाली, हुप्सेकोट र विनयी त्रिवेणीमा निर्वाचन हुँदैछ ।

निर्वाचन लागि नवलपरासी जिल्लाको प्रदेश नं ४ मा पर्ने ती आठ वटा स्थानीय तहका लागि करिब एक हजार कर्मचारी खटाइने तयारी गरिएका मुख्य निर्वाचन अधिकृत केसीले भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा पहिलो चरणको निर्वाचन हुने क्षेत्रमा २२८ वटा मतदान केन्द्र रहने छन् । नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । जसमा स्थानीय तह अनुसार ती नगरपालिका तथा गाउँपालिकामा कुल १६६ वटा वडाको सङ्ख्या रहेका छन् । त्यहाँबाट कुल आठ सय ९७ जना जनप्रतिनिधि चयन हुँदै छन् ।

नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ छ सय पाँच जना र गाउँसभातर्फ दुई सय ९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिनुभयो ।

नवलपरासीमा कुल तीन लाख ६९ हजार आठ सय ९४ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये पुरुष मतदाता सङ्ख्या एक लाख ८० हजार तीन सय १६ रहेको छ भने महिला मतदाता सङ्ख्या एक लाख ८९ हजार पाँच सय ९४ रहेको छ ।

यसैगरी आठ जना तेस्रोलिङ्गी मतदाताको सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा दुई सय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्र रहने छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता छन् । रासस



प्रतिक्रिया दिनुहोस्