Logo

भरतपुर र पोखरामा चुनावी तालमेल गर्ने काँग्रेस–माओवादी सहमति



काठमाडौं, २१ बैशाख । यही बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा प्रमुख दलहरुवीच नै चुनावी तालमेल भैरहेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले दुईवटा महानगरमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुरवीच बिहीबार विहान भएको सहमति अनुसार भरतपुरमा प्रधानमन्त्री प्रचण्डकी पुत्री रेणु दाहाललाई मेयरमा जिताउन काँग्रेसले सघाउने र माओवादीले कांग्रेसलाई पोखरामा मेयरमा जिताउन सघाउने सहमति भएको छ ।

माओवादीबाट भरतपुरमा मेयरमा रेणु दाहाल र उपमेयरमा सुरेन्द्र गुरुङको उम्मेद्धवारी परेको छ । त्यस्तै भरतपुरमा कांग्रेसबाट मेयरमा दिनेश कोइराला तथा उपमेयरमा पार्वती शाह रहेका छन् ।

पोखरामा काँग्रेसबाट रामजी कुँवर मेयरमा तथा सरस्वती गुरुङ उपमेयरमा उठेका छन् । त्यस्तै पोखरामा माओवादीबाट मेयरमा विश्वकप्रकाश लामिछाने र उपमेयरमा गोमा ढकाल उठेका छन् ।

मनोनयन दर्ता गर्नुभन्दा केही घण्टा अघि मात्रै यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाबीच काठमाडौँ र ललितपुरमा चुनावी तालमेल गर्ने सहमति भएको थियो । एमाले र राप्रपावीचको तालमेल अनुसार मेयरमा एमालेका विद्यासुन्दर शाक्य र उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठको उम्मेद्धवारी परेको छ ।



प्रतिक्रिया दिनुहोस्