Logo

‘केन्द्रीय नीतिअनुसार नै काँग्रेस–माओवादी तालमेल’



काठमाडौँ, २१ वैशाख । सत्तारुढ नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)को सहमतिअनुसार भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा स्थानीय निर्वाचनमा तालमेल हुने भएको छ ।

दुवै पार्टीका नेताका अनुसार पोखरा लेखनाथ महानगरपालिका प्रमुखका लागि उम्मेदवार विश्वप्रकाश लामिछानले उम्मेदवारी फिर्ता लिनुभएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले केन्द्रीय नीतिअनुसार नै महानगरपालिकाको उम्मेदवारीमा एकले अर्कोलाई सघाउने निर्णय भएको बताउनुभयो ।

सहमतिअनुसार काँग्रेसका तर्फबाट भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवारी फिर्ता लिइएको छ । महानगरपालिकाका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ताका लागि काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई पत्र पठाउनुभएको थियो । सभापति देउवाले आयोगलाई पत्र लेखेर भरतपुरमा माओवादी केन्द्रका उम्मेदवार रेणुृ दाहाल र उपप्रमुखमा काँग्रेसका तर्फबाट उम्मेदवार पार्वती थापालाई माओवादी केन्द्रले समर्थन गर्ने उल्लेख गर्नुभएको छ ।

सो निर्णयानुसार माओवादी केन्द्रले उपप्रमुख सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता लिएको छ । माओवादी केन्द्र ३ नं प्रदेशका इन्चार्ज हितमान शाक्यले उम्मेदवारी फिर्ता लिइएको पत्र निर्वाचन आयोगको कार्यालय भरतपुरलाई पठाउनुभएको छ ।

यस्तै काँग्रेसको आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले सरकारमा रहेका दलको सहमतिका आधारमा नै चार महानगरपालिकामा तालमेल गर्ने निर्णय गरेको थियो ।

काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय भएको जानकारी दिनुभएको थियो । दुई दलबीच काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकामा पनि तालमेल गर्ने बताइए पनि ती महानगरमा भने दुवै दलका तर्फबाट उम्मेदवारी फिर्ता लिइएको छैन । रासस



प्रतिक्रिया दिनुहोस्