Logo

बेलायती राजकुमार फिलिपद्वारा छिट्टै राजकीय जिम्मेवारीबाट बिदा लिने



लन्डन (बेलायत), २१ वैशाख । बेलायती महारानी एजिलावेथ द्वितीयका श्रीमान् ड्युक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्मेवारी बहन नगर्ने वकिङघम राजदरबारले घोषणा गरेको छ ।

राजदरबारबाट बिहीबार जारी एक वक्तव्यमा भनिएको छ, “पन्चानब्वे वर्षीय फिलिपले जिम्मेवारी बहन नगर्ने निर्णय आफ्नो इच्छाले गर्नुभएको छ भने यसमा महारानी एलिजावेथको पूर्ण समर्थन रहेको छ ।”

ड्युक अफ एडिनबराले अब नयाँ जिम्मेवारी नलिए पनि यसअघि तय भएका कार्यक्रममा भने सरिक रहनु हुनेछ । उहाँलाई अगस्ट उप्रान्त आउने औपचारिक कार्यक्रममा भने ड्युकका रुपमा जिम्मेवारी स्वीकार्नु हुने छैन ।

राजकुमार फिलिप अर्को महिनादेखि ९६ वर्षमा प्रवेश गर्नुहुनेछ । सन् १९४७ मा बेलायती महारानी एलिजावेथसँग वैवाहिक जीवनमा गाँसिएपछि ग्रीक राजकीय परिवारका निर्वासनमा रहेका सदस्य फिलिपको सयौँ बेलायती सङ्घसंस्थामा आवद्धता रहेको छ ।

निर्णय सार्वजनिक भएपछि प्रतिक्रिया जनाउँदै बेलायती प्रधानमन्त्री थेरेसा मेले ड्युक फिलिपको दशकौँ लामो सेवाप्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँको निरन्तरको बेलायती सङ्घसंस्थामा रहेको संरक्षकत्व तथा राजकीय काममा महारानी एजिलावेथलाई मिलेको सहयोगको बेलायती जनता, बेलायत र समग्र विश्व आगामी दिनमा समेत ऋणी हुनेछ, प्रधानमन्त्री मेले भन्नुभयो ।

बेलायतको दरबार स्रोतले फिलिपले नयाँ सार्वजनिक कामको जिम्मेवारी नसम्हाल्ने घोषणा गर्नु भए पनि महारानीले भने आफ्नो सेवालाई निरन्तरता दिनुहुने बताइएको छ । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्