Logo

यस्ता छन् दलहरुबीच अहिलेसम्मका तालमेल



काठमाडौं २२ बैशाख । प्रमुख प्रतिपक्ष एमालेले संसद्को चौथो ठूलो दल राप्रपासँग काठमाडौं र ललितपुर महानगरमा तालमेल गरेसँगै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चितवनको भरतपुर र कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा तालमेल गरेका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाललाई सहयोग गर्ने गरी दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएको छ । उपमेयरमा भने कांग्रेस उम्मेदवार पार्वती शाहलाई माओवादीले सहयोग गर्ने समझदारी गरेसँगै सुरेन्द्र गुरुङको उम्मेदवारी पार्टीले नै फिर्ता लिइदिएको खबर आजको नयाँ पत्रिकामा छ ।

कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिने पार्टी केन्द्रको निर्णयप्रति भरतपुरमा केही असन्तुष्टि भए पनि अन्तिममा सहमति भएको दाबी गरे । ‘उम्मेदवारमा म्यानेज गर्दा अलिकति समस्या आएको हो,’ कार्कीले नयाँ पत्रिकासँग भने, ‘तर, पार्टी केन्द्रले नै भनेपछि उम्मेदवारी फिर्ता लिन मेयरका उम्मेदवार दिनेश कोइरालाले मान्नुभएको छ ।’

केन्द्रको निर्णयमा कोइरालाले असहमति राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नामबाट निर्वाचन आयोगको कार्यालयमा फ्याक्समार्फत पत्र पठाएर उम्मेदवारी फिर्ता लिइएको हो । पत्रमा कांग्रेसले माओवादी केन्द्रका रेणु दाहाललाई चुनावमा समर्थन गर्ने र उपमेयरमा माओवादीले कांग्रेस उम्मेदवार पार्वती शाहलाई सहयोग गर्ने जानकारी निर्वाचन आयोगलाई दिइएको छ । माओवादीले पनि आयोगलाई पत्र लेखेर उपमेयरमा उम्मेदवारी दिएका सुरेन्द्र गुरुङको नाम फिर्ता लिएको छ ।

पोखरा मेयरमा माओवादी सहयोग कांग्रेसलाई, उपमेयरमा आ–आफ्नै उम्मेदवार भिड्ने
चितवनमा कांग्रेसले माओवादीलाई छाडेपछि पोखराको मेयरमा माओवादीले कांग्रेसलाई छाडिदिएको छ । पोखरामा माओवादी केन्द्रले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई सहयोग गर्ने भएको छ । माओवादी केन्द्रले पोखरामा विश्वप्रकाश लामिछानेलाई उठाएको थियो । तर, कांग्रेससँग तालमेल भएपछि उनले फिर्ता लिएका हुन् । महानगरको उपमेयरमा भने कांग्रेस र माओवादीका आ–आफ्ना उम्मेदवार भिड्ने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । पोखरा महानगरको उपमेयरमा कांग्रेसबाट सरस्वती गुरुङ र माओवादी केन्द्रबाट उमा ढकाल उपप्रमुखका उम्मेदवार छन् ।

काठमाडौं र ललितपुरमा एमाले रोक्ने अभियानमा सत्तारुढ दल
भरतपुर र पोखरामा चुनावी तालमेल गरे पनि कांग्रेस र माओवादीले काठमाडौं र ललितपुरमा तालमेल घोषणा गरेका छैनन् । चार–पाँच दिनअघि नै तालमेल गर्न कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र डा. रामशरण महत तथा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहने गरी चार सदस्यीय कार्यदल बनेको थियो । सो कार्यदलले छलफल गरी शीर्ष नेताहरूसँगको छलफलपछि दुई महानगरको तालमेलको टुंगो लगाएको हो । तर, काठमाडौं र ललितपुरमा भने कुनै निर्णय भएको छैन ।

‘उम्मेदवारी फिर्ता लिएर चुनावी तालमेल गर्न काठमाडौं र ललितपुरमा सकिएन,’ कांग्रेसका एक नेताले भने, ‘तर, चुनावसम्म पुग्दा कसरी एक–अर्कालाई कसरी सहयोग पुर्याउन सक्छौँ, त्यो गर्छौँ ।’

कार्यदल सदस्य वर्षमान पुनले काठमाडौं र ललितपुरमा आ–आफ्नै उम्मेदवार लड्ने बताए । तर, अझै पनि कांग्रेससँग तालमेलको सम्भावना नसकिएको उनको भनाइ छ । एमालेले दुवै महानगरमा प्रमुख र राप्रपाले उपप्रमुख लिने गरी तालमेल गरेका छन् ।

यी ठाउँमा पनि कांग्रेस–माओवादीबीच तालमेल
हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका आनन्दराज पराजुलीलाई माओवादीले समर्थन गर्ने, उपप्रमुखमा कांग्रेसले समर्थन गर्ने, थाहा नगर प्रमुखमा माओवादीका लवशंकर विष्टलाई कांग्रेसले समर्थन गर्ने र माओवादीले कांग्रेसका खड्ग गोपालीलाई उपप्रमुखमा सहयोग गर्ने गरी तालमेल भएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दिए ।

त्यस्तै, धादिङ नीलकण्ठ नगरपालिकाको प्रमुखमा माओवादीले कांग्रेसका भीम ढुंगानालाई समर्थन गर्ने र उपप्रमुखमा माओवादीका शैलेश भण्डारीलाई कांग्रेसले समर्थन गर्ने गरी तालमेलको टुंगो लागेको हो । दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुखमा कांग्रेसका ईश्वर मानन्धरलाई माओवादीले सहयोग गर्ने र उपप्रमुखमा माओवादीका कमला कार्कीलाई कांग्रेसले सहयोग गर्ने तालमेल गर्ने सहमति भएको छ।

ललितपुरमा कांग्रेसबाट बागी
ललितपुर कांग्रेसका पुराना नेता प्रेमलाल महर्जनले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसले उनको उम्मेदवारी फिर्ता गराउने प्रयास गरे पनि सकेन । ‘मेरो उम्मेदवारी कायमै छ । फिर्ता लिएको छैन । चुनाव भिड्छु,’ महर्जनले नयाँ पत्रिकासँग भने, ‘पार्टीभित्रको विकृति–विसंगति रोक्न उम्मेदवारी दिएको हुँ । पार्टीसँग बदला लिन र धम्की दिन होइन ।’



प्रतिक्रिया दिनुहोस्