Logo

चुनावी प्रचारका गीतमा कुन दल अगाडि ?



काठमाडौं, २२ बैशाख । चुनावको बेलामा वा कुनै नयाँ घटनाको प्रचार प्रसार गर्नु पर्दाको बेलामा गीतसंगीत बलियो हतियारका रुपमा प्रयोग गरिन्छ भन्दा फरक पर्दैन ।

करिब २ दशक पछि देशमा स्थानिय तहको निर्वाचन हुने कुराले सबैलाई खुसि बनाएको छ । प्रजातान्त्रिक मुलुकमा चुनावको महत्त्व नहुने कुरै भएन । यहि बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनले अझ ठूलो अर्थ राख्छ ।

रेखा थापा, करिश्मा मानन्धर, कोमल वलीजस्ता चिनिएका कलाकर्मीले यस अघि नै पार्टी प्रवेश गरिसकेका छन् भने चुनावलाई नै केन्द्रमा राखी यतिबेला विभिन्न दल, तिनका कार्यकर्ता र अन्य कलाकर्मीले सांस्कृतिक गतिविधि सुरु गरेका छन् । यति बेला युटयुबमा पार्टीपिच्छेका गीत भेटिन थालेको छ ।

बद्री पंगेनी र प्रिया भण्डारीले गाएको ‘सै पनि एमाले, मै पनि एमाले’ बोलको गीत युटयुब ट्रेन्डिङको लोकप्रिय १५ भित्र परेको छ । एक साता अघि अपलोड गरिएको गीत यो समाचार तयार पार्दासम्म ४ लाख ८६ हजार बढीले हेरिसकेका छन् भने ६ सयभन्दा बढीले कमेन्ट गरेका छन् । समय सान्दर्भिक शब्द संयोजन पूर्ण परियारले गरेका हुन ।

कांग्रेसलाई समर्थन गर्दै गाइएको ‘भोट हालौं रूखमा’ राधिका हमाल र सुनील थापाको स्वर रहेको गीतमा कांग्रेस नेताहरू, पार्टीको झण्डा, जनलहर देखाएर भिडियो बनाइएको छ ।

पार्टी प्रचारका लागि गीतसंगीतलाई बलियो सामग्रीका रूपमा प्रयोग गर्दै आएको माओवादी केन्द्रका पक्षमा पनि नवीन खड्का र टीका पुनले स्वर दिएका छन् ।

दुई महिनाअघि नै सार्वजनिक भएको म पनि माओवादी’ बोलको गीत युटयुबमा ९० हजार बढीले हेरेका छन् । ‘गीतले भनेझैं सबैजना एकजुट होऔं’, शोभा मगरको प्रतिक्रिया छ, ‘सबै दल मिलेर समाज परिवर्तन गरेको हेर्ने सपना छ ।’

राप्रपाका लागि भने पार्टी अध्यक्ष कमल थापाकै शब्दमा गायक राज सागरले ‘नेपाली, नेपाली हामी’ बोलको गीत लयबद्ध गरेका छन् । अप्रिल १३ मा युटयुबमा हालिएको गीत २४ हजारले हेरेका छन् ।

उता, रञ्जु दर्शनालाई काठमाडौंको मेयरमा उठाएको विवेकशील नेपाली पार्टीका लागि भने अमृतराज वैद्यले गीत गाइदिएका छन् । ‘भोट फर विवेकशील नेपाली’ बोलको गीत अन्य पार्टीको चुनावी गीतभन्दा अलि फरक पनि छ । १० हजार बढी भ्युज छन् ।

 



प्रतिक्रिया दिनुहोस्