Logo

अमेरिकामा स्वास्थ्य सम्बन्धी नयाँ विधेयक पारित



वासिङ्टन, २२  वैशाख । अमेरिकाको प्रतिनिधिसभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले स्वास्थ्यसम्बन्धी नयाँ विधेयक पारित गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्यसम्बन्धी कानुनको ठाउँमा अब नयाँ कानुन लागू हुनेछ ।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन सांसदहरुसँग व्यापक छलफलपछि उनीहरुकै समर्थनमा नयाँ विधेयक पेश गरेका थिए । डेमोक्रेटिक सांसदहरुले भने यसको विरोध गरेका छन् ।

त्यसैगरी अमेरिकी चिकित्सक तथा अस्पतालका केही समूहले पनि यो विधेयकको विरोध गरेका छन् । विधेयक पास गर्न २ सय १७ मत आवश्यक पर्नेमा २ सय १७ मत नै परेको थियो । तर एक जना पनि डेमोक्रेट सांसदले यो विधेयकको पक्षमा मत दिएका छैनन् ।

प्रतिनिधिसभाले पास गरेको यो विधेयक आगामी जुनमा सिनेटमा पेश गरिने भएको छ । अमेरिकाको तल्लो सदनमा यो विधेयक पास भएपछि राष्ट्रपति ट्रम्पले तीन महिने कार्यकालमा पहिलो वैधानिक जित हात पारेका छन् ।

यसअघि मार्चमै यो विधेयक पेश गर्ने तयारी भए पनि त्यस बेला पर्याप्त समर्थन जुटाउन नसक्दा राष्ट्रपति ट्रम्पले फिर्ता लिएका थिए । (एजेन्सी)

 



प्रतिक्रिया दिनुहोस्