Logo

नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने जाइकाको प्रतिबद्धता



योकोहामा जापान, २२ वैशाख । जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ९जाइका०ले नेपालको भौतिक पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

एसियाली विकास बैंक एडिबी सञ्चालक समितिको ५० औँ बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा र जाइकाका उच्च अधिकारीबीच आज भएको भेटवार्तामा नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त भएको हो ।

जाइकाका कार्यकारी वरिष्ठ उपाध्यक्ष कोसीकावा काजुहिको नेतृत्वको टोलीले तीनवटै तहका निर्वाचनमा नेपाललाई सहयोग गर्ने तत्परता व्यक्त गरेको छ ।

जाइकाले नागढुङ्गा–काठमाडौँ सुरुङमार्ग निर्माण प्रक्रियामा भएको प्रगतिप्रति प्रसन्नता प्रकट गर्दै निर्माणका काम अतिशीघ्र प्रारम्भ गर्ने बताइएको छ ।

भूकम्पपछिको पुनः निर्माण काममा आएको सुस्तताप्रति चासो र चिन्ता व्यक्त गर्दै जाइकाले जनअपेक्षा अनुसार सम्बद्ध निकायले द्रुतगतिमा कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरेको छ ।

सो अवसरमा उपप्रधानमन्त्री महराले राजनीतिक सङ्क्रमण अन्त्यको क्रममा रहेको नेपालले संवैधानिक प्रावधान अनुसार तीनवटै तहका निर्वाचन समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ वर्तमान सरकार क्रियाशील रहेको र सर्वप्रथम स्थानीय तहको निर्वाचन यसै महिना हुन लागेको जानकारी गारउनुभयो ।

लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै नेपाललाई आर्थिक विकासको मार्गमा द्रुत गतिमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले नेपालको पूर्वाधार विकास र भूकम्पपछिको पुनः निर्माणमा जापानले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

जाइकाका दक्षिण एसिया निर्देशक ताकेयुची ताकुरोसहितको टोलीसँगको भेटवार्तामा आफूले द्विपक्षीय विकास सहयोग, जाइकाको सहयोगमा जारी पुनःनिर्माणका काम, ऊर्जा विकास, सामाजिक सुधार, आर्थिक उन्नयनबारे छलफल गरेको उपप्रधानमन्त्री महराले राससलाई बताउनुभयो ।

“पूर्वाधार विकास, यातायात, काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको व्यवस्थापन तथा आम परिवहन, विद्यालय क्षेत्र सुधार कार्यक्रम, स्वास्थ्यलगायत आपसी हित र चासोको विषयमा सो टोलीसंग छलफल भएको उहाँले भन्नुभयो ।”

भेटमा जाइकाका कार्यकारी वरिष्ठ उपाध्यक्ष काजुहिकोले नेपालमा शान्ति र समृद्धि कायम भई विकासको बाटोमा अग्रसर हुन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उपप्रधानमन्त्री महराले बताउनुभयो ।

भेटमा अर्थसचिव शान्तराज सुवेदी, अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, टोकियोस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कृष्णचन्द्र अर्याललगायत सहभागी हुनुहुन्थ्यो । रासस ९तस्बिर उपलब्ध छ०



प्रतिक्रिया दिनुहोस्