Logo

पानी परीक्षण गराएर स्टिकर नलिने ट्यांकरलाई कारबाही गर्न मन्त्रीको निर्देशन



काठमाडौं, २२ बैशाख। खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सुद्धताको परीक्षण गराएर स्टिकर नटाँस्ने पानी ट्यांकरमाथि कारवाही गर्न निर्देशन दिएका छन् ।

पानीको नियमितपरीक्षण गरेर स्टिकर प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्री शाहीले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई उक्त निर्देशन दिएका हुन् ।

खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्रि वितरण गर्नुपर्ने व्यवस्था लागू गरेपपछि खानेपानी व्यवस्थापन बोर्डले पानी उत्पादन हुने स्थानमा नै गएर परीक्षण गर्न थालेको छ । आज मात्र गोदावरीबाट नियमित रुपमा पानी भर्दै आएका ६४ वटा ट्यांकरको पानी परीक्षण गरि स्टिकर प्रदान गरिएको छ । त्यसमध्ये अधिकाशं ट्यांकरले पहेलो स्टिकर प्राप्त गरेका छन् ।

पहेलो स्टिकर पाएका त्यस्ता ट्यांकरको पानी उमालेर मात्र पिउनका लागि योग्य मानिन्छ । सिधै पिउन मिल्ने पानीको ट्यांकरका निलो स्टिकर टाँसिन्छ त्यस्तो स्टिकर पाउनेमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का १३ वटा ट्यांकर रहेका छन् । निजी क्षेत्रबाट संचालित ट्यांकरहरुले निलो स्टिकर नपाएकाले त्यस्ता ट्यांकरबाट लिएका पानी सिधै खान नमिल्ने समेत बोर्डले जनाएको छ ।

अहिलेसम्म १५० वटा ट्यांकरको पानीमा गरिएको परीक्षणमा अधिकांशमा पहेंलो स्टिकर टाँसिएको छ ।परीक्षणका क्रममा केहि ट्यांकरहरुमा हरियो स्टिकर समेत टाँसिएको छ । हरियो स्टिकर टाँसिएका ट्यांकर पानी पिउनका लागि अयोग्य हुन्छ । त्यस्तो ट्यांकरको पानी अन्य कामका लागि मात्र प्रयोग गर्न समेत आम नागरिक समक्ष मन्त्रालयले आग्रह गरेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्री शाहीले अनुगमन र परीक्षणलाई प्रभावकारी बनाएर जनतालाई सहुलियतमा पानी उपलब्ध गराउने आफूहरुको दायित्व भएको भन्दै पानीको गुणस्तर र सुद्धतामा विशेष ध्यान दिनुपर्ने बताए ।

मन्त्री शाहीले पानी ट्यांकरहरुलाई व्यवस्थापन गर्न र जनतालाई सहज हुने गरि कानूनी प्रक्रियामा ल्याउन निर्देशन दिएपछि खानेपानी व्यवस्थापन बोर्डले बैशाख ५ गते देखि पानी बोक्ने ट्यांकरहरुमा अनिवार्य रुपमा स्टिकर प्रणाली लागू गरेको हो ।

पानीको सुद्धता कायम राख्न र नियमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन मन्त्री शाहीले खानेपानी व्यवस्थापन बोर्डलाई निर्देशन दिएका छन् । गुणस्तर प्रमाणित नभई कुनै पनि ट्यांकरले पानी वितरण गर्न पाउने छैनन् । स्टिकर नभएको ट्यांकर प्रयोग गरेको भेटिए तुरुन्त कारवाही गर्ने मन्त्री शाहीले बताए ।

स्टिकर प्रणालीमा समावेश नभएका पानीका ट्यांकरबाट पानी वितरण गरेको भेटिए खानेपानी मन्त्रालयको टोल फ्री नम्बर १६६००१४२१११ मासम्पर्क गरेर उजुरी गर्न सकिन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन । त्यस्तो उजुरी परेपछि प्रहरीसँगको समन्वयमा खानेपानी मन्त्रालयले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउछ । संचालन अनुमति खारेज सम्मको कारवाही गर्न मन्त्रालयले बोर्डलाई निर्देशन दिईसकेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट संचालित ट्यांकरहरु भने पूर्ण रुपमा स्टिकर प्रणालीमा समावेश भैसकेका छन् । ट्यांकरको हकमा पनि बैशाख मसान्तभित्र अन्य स्रोतबाट संचालित ट्यांकरहरुलाई परीक्षण गरेर स्टिकर टाँस्ने व्यवस्था मिलाउन मन्त्री शाहीले निर्देशन दिएका छन् । उक्त समयसीमा भित्र पनि अटेर गरेर बस्ने ट्यांकरलाई संचालन गर्न दिन नसक्ने र कारवाहीको दायरामा ल्याउने उनले बताए ।

मन्त्री शाहीले ट्यांकरमा भएको पानीको गुणस्तर र सुद्धताको आधारमा स्टिकर प्रदान गरिने भन्दै स्टिकर हेरेर मात्र ट्यांकरको पानीको प्रयोग गर्न सबै नागरिक सचेत हुनुपर्नेमा मन्त्री शाहीले जोड दिए ।

बैशाख मसान्तभित्र सबै ट्यांकरलाई स्टिकर टाँसी सक्ने खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्